काठमाडौं । लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट(पीपीई) ) र एन–९५ मास्क बिक्रीवितरण गरेको कसुरमा तीन सर्जिकल पसललाई कारबाही गरिएको छ ।
उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्रीवितरण भएको र खरिद बिल नभएको पाएपछि कारबाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
उपभोक्ताले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालिमा पीपीई बढी मूल्यमा बिक्री गरेको गुनासो गरेका आधारमा अनुगमन गर्दा त्यस्तै भेटिएकाले रु दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार रु तीन हजार सात सयमा खरिद गरिएको पीपीई सेटको रु पाँच हजार सात सय (२० प्रतिशतभन्दा बढी नाफा) मा बिक्री गरेको पाइएकाले कारबाही गरिएको हो । त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित कान्तिपुर सर्जिकललाई खरिदबिक्री विवरण सार्वजनिक गर्न नसकेकाले अनुचित क्रियाकलाप गरेवापत रु दुई लाख जरिवाना गरिएको छ ।
सुकेधारास्थित कालिका ट्रेडर्स प्रालिलाई बढी मूल्यमा एन–९५ मास्क बिक्रीवितरण गरेका कसुरमा रु तीन लाख जरिवाना गरिएको छ । तीनै सर्जिकल पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । रासस