जनकपुरधाम : धनुषाको एक क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास गरिएको घटना सार्वजनिक भएको छ ।
धनुषाको विदेह नगरपालिका–६ स्थित विगत सात दिनदेखि क्वारेन्टाइनमा रहेकी एक २२ वर्षीया महिलामाथि गएराती बलात्कारको प्रयास भएको घटना बाहिर आएको हो ।
गएराती करिब ११ बजेको समयमा क्वारेन्टाइनमा सोही नगरपालिका–५ की एक महिला उपर एकजना सरसफाइ कर्मचारी २८ वर्षीय संजिव पासवानले बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ । बलात्कारको प्रयास गर्दा महिला चिच्याएर हल्ला गरेपछि त्याँ खैलाबैला मच्चिएको थियो ।
सो सन्दर्भमा नगरपालिकाका मेयर बेचन दासले महिलाले लगाएको आरोप निराधार रहेको बताएका छन् । उनले ति महिलासँगै अर्को महिला पनि उनकै कोठामा रहेको र उनीसँग घटनाको सम्बन्धमा बुझ्दा महिलाले लगाएको आरोप गलत रहेको उनले बताईन् ।
मेयर दासले भने, ‘आरोपित युवक त्यही गाउँको रहेको तथा उसले घटना घटाएको भए राती नै त्यहाँबाट फरार पनि हुनसक्थ्यो ।’ तर यसले त्यस्तो केहि नगरेको मेयर दासले दाबी गरे । भारतबाट करिव एक हप्ता पहिले गाउँ आएकी महिलालाई आफुहरुले नै क्वारेन्टाईनमा बस्न लगाएको उनले जानकारी दिए । उनले ति महिलाको मानसिक स्थिती समेत ठिक नरहेको बताए ।
यता महिलाको उजुरीको आधारमा प्रहरी चौकी तिनकौरियाले युवकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए । उनले आरोपितसँग अनुसन्धान गरी मात्र थप कुरा भन्न सकिने जानकारी दिए ।