काठमाडौं | जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा पार्टी दर्ता भएको हो । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन्।
दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका नेता बिहीबार बिहानै निर्वाचन आयोगको कार्यालय पुगेका थिए । बुधबार राती राजपा र समाजवादीबीच एकता भएको थियो। नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको थियो।
एकतापछि नयाँ पार्टीको झण्डा भने समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ भने चुनाव चिह्न राजपाले प्रयोग गरेको छाता राख्ने सहमति भएको छ ।
बुधबार राती भएको सहमतिमा राजपाका तर्फबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए।
प्रधानमन्त्री केपी ओलीले सोमबार मात्र मन्त्रिपरिषद् बैठकबाट दल विभाजन खुकुलो हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि राजपा फुट्ने चर्चा चलेको थियो । बाहिरी हल्ला विपरित बुधबार राती राजपा र समाजवादीबीच एकता भएको हो । संघीय संसदमा राजपा र समाजवादीका १७/१७ गरेर । ३४ सांसद रहेका छन् ।