बीरगन्ज | निजी विद्यालयहरुको संगठन प्याब्सन, पर्साले कोरोना कोषमा ५१ हजार रुपैंयाको सहयोग प्रदान गरेको छ । बीरगन्ज महानगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा प्याब्सन पर्साले सो आर्थिक सहयोग गरेको हो ।
प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको नेतृत्वमा नगरपालिका पुगेको टोलीले आज मेयर विजय कुमार सरावगीलाई भेटेर कोरोना कोषका लागि सो रकमको चेक हस्तान्तरण गरेको हो ।
बाढी, पहिरो, भुकम्प, आँधी लगायतका जुनसुकै विपत्तिमा पनि सहयोग गर्न पछि नपरेको बताउदैं अध्यक्ष साहले प्याब्सनले आफनो सामाजिक उत्तरदायित्वलाई कायम राखेको दाबी गर्नुभयो ।
अहिलेको कोरोना भाइरसको महामारीको समयमा पनि प्याब्सन पर्साले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आज महानगरपालिकाको कोरोना कोषमा आर्थिक सहयोग प्रदान गरेको डा. साहले बताउनुभयो ।
“लकडाउनले गर्दा दैनिक गुजारा बन्द भएका स्थानीयलाई राहत दिनका लागि हामीले सो सहयोग गरेका हौं” साहले भन्नुभयो ।
अध्यक्ष डा. साहसहित प्याब्सनका कोषाध्यक्ष सरोज प्रसाद चौधरी र महानगर अध्यक्ष आलोक चौरसिया पनि टोलीमा सहभागी थिए ।