विश्वब्यापीरुपमा महामारी बनेको कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट आफ्नो नागरिकको ज्यानको सुरक्षा गर्नका लागि सरकारले देशभर लकडाउन लागू गरेको छ । तर, लकडाउन कै कारण एक नागरिकले यतिबेला ज्यान गुमाउनु परेको छ ।
ज्वालामुखी गाउँपालिका–५, बाँझाघरको होमबहादुर राना मगर आफ्नो परिवारसँगै चितवनको माधवपुरमा बस्थे । मिस्त्री काम गर्ने उनको आम्दानी पनि ठीकै थियो ।
तर कोरोना भाइरसको महामारी बढ्दै गएपछि सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी देशैभर लकडाउनको घोषणा ग¥यो । त्यसलगत्तै होम बहादुरले आफ्नी पत्नी, दुई छोरी र छोरालाई गाउँ पठाए ।
चितवनमा भन्दा गाउँमा सुरक्षित भइने भन्दै उनले परिवारका सबै सदस्यलाई गाउँ पठाएका थिए । लकडाउन केही दिनमै खुल्ने आशमा उनले परिवारलाई गाउँ पठाएर आफू भने शहरमै मजदुरी गर्ने उनको सोच थियो । तर सुरुमा एक साताका लागि गरिएको भनिएको लकडाउन दुई पटक थपियो । चैत १७ मा थपेर २४ गतेसम्म र त्यसपछि पनि वैशाख ३ गतेसम्म बनाइयो ।
लकडाउन खुल्ला भन्दा झन् झन् बढ्दै गएपछि उनी चितवनबाटै हिँडेर बेनीघाट हुँदै आफ्नो गाउँतर्फ लागे । बेनीघाटबाट करिब ४ घण्टा हिँडेर उनी वैशाख ३ गते बुधबार राति करिब ९ बजे बुङ्कोटघाट पुगे । परिवारका सदस्यले पनि गाउँमा लकडाउन कडा पारिएकाले राति आउन भनेका थिए । जसकारण होमबहादुर रातिको समय पारेर आफ्नो गाउँ धादिङ जान चाहन्थे ।
होमबहादुर राति ९ बजेसम्म आफ्ना परिवारका सदस्यसँग फोनमा कुराकानी गरिरहेका थिए । आफू बुङ्कोटघाट पुल आइपुगेको भन्दै उनले परिवारका सदस्यसँग कुराकानी गरिरहेका थिए । आफूलाई लिन आउन भन्दै उनले परिवारका सदस्यलाई बुङकोटघाटको पुलको पारिपट्टी बोलाएका पनि थिए ।
तर रातको ९ बजेपछि एकाएक होमबहादुरको मोबाइलको स्वीच अफ भयो । लामो समय कुर्दा पनि होमबहादुर सम्पर्कमा आएनन् । परिवारका सदस्यलाई लाग्यो कि होमबहादुर कोही साथीभाइको घरमा गए होलान् वा गोरखाका स्थानीयले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पो राखिदिए कि भन्ने लाग्यो ।
वैशाख ३ गते होमबहादुर नआएपछि परिवारका सदस्य पनि घर फर्किए । वैशाख ४ गते बिहानै होमबहादुरलाई खोज्न परिवारका सदस्यहरु फेरि बुङ्कोटघाटतर्फ लागे । तर परिवारको सदस्यले होमबहादुरलाई जीवित पाउन सकेनन् ।
गोरखा र धादिङ जोड्ने बुङ्कोटघाटको पक्की पुलको तल होमबहादुरको शव भेटियो ।
कोरोना भाइरसको माहामारीको कारण गोरखा र धादिङका स्थानीयले पुलको दुबैतर्फ बार लगाएका थिए । गोरखा तथा धादिङतर्फ मान्छेसमेत आवतजावत गर्न नमिल्ने गरी फलामको डण्डीमा जस्ता बारेर बन्द गरिएको थियो । यद्यपि होम बहादुर ती बारलाई छिचोल्दै गोरखातर्फको पुल पार गरेर धादिङतर्फ पुगिसकेका थिए । पुलको छेउमा रहेको फलामको रेलिङबाट हिँड्दै उनी पुल पार गर्दै थिए ।
तर धादिङतर्फको बारसमेत पार गरिसकेपछि होमबहादुर रेलिङबाट बाटोमा झर्न लाग्दा त्यहीँ चिप्लिएको अनुमान गरिएको छ । रातको समयमा स्थानीयले देख्लान् कि भनेर सम्भवत उनी बत्तीसमेत नबाली आएको हुनसक्छ । जसको कारण अँध्यारोमा बाटो नदेखेर उनी पुलको मुख्य पिल्लरको छेउबाटै तल नदी किनारमा खसे र टाउको ठोक्किएर उनको मृत्यु भयो ।
कोरोना भाइरस संक्रमणको खतरा बढेको भन्दै वैशाख महिना लागेपछि धादिङ र गोरखामा लकडाउन कडा पारिएको थियो । र्यापिड टेष्टका क्रममा धादिङ मैदीका एक जनामा कोरोना पोजेटिभ देखिएको भन्दै त्यसपछि बाहिरबाट आउनेलाई प्रवेश निषेधजस्तै गरिएको थियो । मुख्यतः भारतबाट आउनेहरुलाई त्यहाँ कडा निगरानीमा राखिएको थियो र उनीहरुलाई क्वारेन्टाइनमा बस्न बाध्य पारिएको थियो । होमबहादुर क्वारेन्टाइन छल्नका लागि नै रातारात घर आएको हुनसक्ने ज्वालामुखी गाउँपालिका–५, धादिङका वडाध्यक्ष कृष्णप्रसाद काप्रीको भनाइ छ । रातको समयमा उनी एक्लै गाउँ आउँदा दुर्घटना भएको काप्रीले रातोपाटीलाई बताए ।
दुबैतर्फका स्थानीयले बन्द गराएका थिए आवतजावत
आफ्नो गाउँ जानका लागि पुल तर्ने क्रममा दुर्घटना भई ज्यान गुमाउने होमबहादुरको घर धादिङ जिल्ला हो, जुन बागमती प्रदेशमा पर्छ । त्यसैगरी उनी गएको बाटो अर्थात् बेनीघाटदेखि बुङ्कोटघाटसम्मको बाटो भने गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्छ । यसअघि सरकारले एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्म जान पनि कडाई गरेको अवस्थामा दुईवटा छुट्टाछुट्टै प्रदेश भएको कारण गोरखा र धादिङका स्थानीयले पक्की पुलमा हिँडडुल गर्नै नमिल्ने गरी बार लगाएका थिए । ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णप्रसाद काप्रीकै सक्रियतामा त्यो बार लगाइएको थियो र मानिसहरुलाई गाउँ प्रवेश गर्न करिबकरिब बन्देज नै गरिउको थियो । यद्यपि चितवनमा काम गर्न समेत नपाएपछि होमबहादुरलाई त्यहाँ खान र बस्नको समस्या हुन थालिसकेको थियो । जसको कारण जे जस्तो भएपनि गाउँमै गएर खाने भन्दै होमबहादुर आफ्नै गाउँ फर्कँदै थिए । तर पुलमा बनाइएको तारबारले सहजरुपमा उनी आफ्नो गाउँ जान सक्दैनथे । जसको कारण जोखिम मोलेर पक्की पुलको छेउमा रहेको रेलिङबाट गाउँतर्फ जाँदै गर्दा उनी दुर्घटना परे र मृत्यु भयो ।
के होला श्रीमती र तीन सन्तानको?
होमबहादुरको परिवारमा ५ सदस्य थिए । ३८ वर्षीय होमबहादुर नै परिवारमा कमाई गर्ने एकमात्रै सदस्य थिए । उनका १३ र १२ वर्षका दुई छोरी र ३ वर्षका एक छोरा थिए । श्रीमती ती छोराछोरीको हेरचाह र घरधन्दामा नै आफ्नो समय खर्च गर्थिन् । होमबहादुरको पैतृक सम्पत्तिले ४ महिना पनि खान पुग्दैन । गाउँमा भएको खोरिया बारीको उत्पादनले परिवार पाल्न नपुग्ने भएपछि उनी मजदुरी गर्न चितवन गएका थिए । तर, कमाई गर्ने परिवारकै अभिभावकको यो दुखद मृत्युपछि यतिबेला परिवारको अवस्था झनै दयनीय बनेको छ । चितवनमा कामसमेत नपाएपछि भोकै बस्नुपर्ने अवस्था आएको भन्दै परिवारका सदस्यसँग् कुराकानी गरेका होमबहादुर परिवारका सदस्यको सल्लाह बमोजिम नै उनी गाउँ आउँदै थिए । कोरोना भाइरसको भन्दा भोकको डर ठूलो भएपछि उनी गाउँ फर्कदै थिए । तर परिवार भेट्नै नपाई उनले ज्यान गुमाउनुपर्यो ।
क्षतिपूर्ति र राहतका सम्बन्धमा गाउँपालिका र सरकार चुपचाप
लकडाउनको कारण स्थानीय जनता र स्थानीय तहले आवतजावत नै बन्द गर्ने गरी पक्की पुलमा बार लगाएका थिए । आवतजावत नै बन्द गर्ने गरी पुलमा बार लगाएपछि वैकल्पिक बाटोबाट पुल पार गर्दैगर्दा उनको दुर्घटना भइ मृत्यु भयो । तर आफ्नै स्थानीय तहको एक सदस्यको मृत्यु हुँदा पनि ज्वालामुखी गाउँपालिका ५ का वडाध्यक्ष कृष्णप्रसाद काप्री, गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेना र सरकारलाई कुनै चासो र चिन्ता छैन ।
यो सामान्य वा नियमित मृत्यु होइन । भोकको डरले निम्त्याएको ठूलो विपत्ति र दुर्घटना हो । त्यो भन्दा ठूलो कुरा आवतजावत नै गर्न नमिल्ने गरी बाटो बन्द गर्दा निम्तिएको दुर्घटना हो र यो दुर्घटनाका जिम्मेवार ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष काप्री, गाउँपालिकाका अध्यक्ष तिमल्सेना, प्रमुख जिल्ला अधिकारी र सरकार स्वयम् पनि हो । तर यतिबेलासम्म न घटनाको विस्तृत छानबिन भएको छ, न त आफ्नै घर फर्कन नपाइने गरी तारबार गर्नेहरुमाथि छानबिन भएको छ । दिउँसो गाउँ पस्नै नदिने भएपछि बाध्य भएर राती घर फर्कनुपर्ने अवस्था सिर्जना गराउने व्यक्तिहरु को को थिए, उनीहरुलाई छानबिन र कारवाहीको दायरामा ल्याउने कि नल्याउने भन्ने छलफलसमेत भएको छैन ।
घटनाको पाँचौँ दिन अर्थात् आइतबार रातोपाटीले ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनालाई सम्पर्क गरी पीडित परिवारलाई राहत वा क्षतिपूर्ति दिने सम्बन्धमा केही प्रगति भएको छ त भनेर सोध्दा उनले के को क्षतिपूर्ति भन्ने जवाफ दिए । क्षतिपूर्ति दिने सम्बन्धमा केही छलफल भएको छ कि भन्ने प्रश्नमा अहिलेसम्म त्यस्तो कुनै छलफल नभएको भन्दै आफ्ने घर फर्कदै गरेका मतदाताको मृत्यु हुँदासमेत बेपर्वाह उनी आफ्नै लयमा देखिए ।
राहत वा क्षतिपूर्तिको सम्बन्धमा धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई सम्पर्क गर्दा उनले घटनाको अनुसन्धान भइरहेकाले केही बोल्न नमिल्ने बताए । यद्यपि कुराकानीको सुरुवातमै उनले मृत्यु प्राकृतिक भएमा राहत पाउने बताए । तर पछि रातोपाटीले दोहोराएर प्राकृतिक कारणबाट मृत्यु भएको भएचाहिँ क्षतिपूर्ति वा राहत दिइन्छ हो भन्ने प्रश्नमा उनले घटनाको मुचुल्का हेरेपछि मात्रै केही भन्न सकिने बताए ।
बाटो बन्द गर्न पाउने कि नपाउने ?
कानुन नै हेर्ने हो भने कसैले पनि यसरी सार्वजनिक बाटो बन्द गर्न पाउँदैन । सार्वजनिक बाटो कुनै व्यक्ति, समाज वा प्रदेशको अधिकारको क्षेत्र र विषय होइन । नेपालको मैलिक हकले पनि आफ्नो घर जान र आउन पाउने अधिकार दिएको छ । लकडाउन भएपछिको अवस्थामा पनि सर्वोच्च अदालतले सरकारको नाममा घर आउन दिनु भन्ने निर्देशनात्मक आदेश दिइसकेको छ । यस्तो अवस्थामा कुनै वडाध्यक्ष, गाउँपालिका वा स्थानीयले आवतजावत नै रोकिने गरी बाटो बन्द गर्न पाउँदैन, त्यो दण्डनीय हुन्छ । तर पनि विभिन्न जिल्ला र स्थानीय तहमा आफूखुसी बाटो बन्द गर्दा पनि सबैतिर प्रशासन भने मौन नै रहेको देखिन्छ । नयाँ मान्छे आउँदा कोरोना फैलिन सक्ने भन्दै बाटो नै बन्द गरेर आवतजावत ठप्प पार्न पाइँदैन । बरु कुनै नयाँ व्यक्ति आएमा उसलाई स्थानीय तहले समन्वय गरेर क्वारेन्टाइनमा राख्न सकिन्छ, राख्नुपर्दछ ।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ पनि बाटो बन्द गर्न नपाइने भन्दै बाटो बन्द गर्नु अपराध हुने बताउँछन् । तर घटना भएको स्थानको बाटो बन्द गरिएको छ भन्ने जानकारी प्रशासनलाई त्यतिबेलासम्म नभएको भन्दै घटनालगत्तै धादिङतर्फको बाटो खोलिएको बताउँछन् । यद्यपि गोरखातर्फको बाटो अझै नखोलिएको उनी बताउँछन् ।