काठमाडौं | तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटा कार्यक्रममा थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् ।प्रहरीको सुरक्षा घेरामा रहेको संघीय संसद भवनमा जवरजस्ती छिरेको आरोपमा प्रहरीले शनिबार राति कुँवरलाई पक्राउ गरेको हो ।
संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार कुँवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।प्रहरीसँग उनले नेताहरुले देश बिगारे भन्दै ‘हल्ला गरेपछि’ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दूर्गाराज रेग्मीले कुँवर पक्राउ परेको जानकारी दिए ।बाग्लुङको राजकुत भर भएका कुँवरले २०६९ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एउटा कार्यक्रममा प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए ।