नेपालको सीमावर्ती क्षेत्रमा कोरोना चेकजाँचमा खटिने जनशक्ति र उपकरण अभाव
वीरगंज संजाल
२३ फाल्गुन २०७६, शुक्रबार १५:०६
५८३९
वीरगञ्ज | चीनबाट शुरु भएको प्राणघातक सरुवा रोग कोरोना भाइरसले विश्वलाई प्रभावित बनाइरहेकाे वेला नेपालको सीमावर्ती क्षेत्रमा भने चेकजाँचमा खटिने जनशक्ति र उपकरण अभाव भएकाे छ । खुला सीमा-नाकाबाट नेपाल भित्रने विदेशीहरुको परीक्षण गर्न हेल्थ डेस्क स्थापना गरिएको भए पनि जनशक्ति र साधनश्रोतको भने अभाव देखिएको छ ।
नेपालको प्रमुख प्रवेशद्वार मानिने वीगञ्जस्थित शमराचार्य गेटमा वीरगंज महानगरपालिकाले नेपाल भित्रने विदेशी पर्यटक र यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्कको स्थापना गरेको छ । वीरगञ्ज महानगरपालिकाले हेल्थ डेस्कमा सेवा दिने ३ जना हेल्थ असिस्टेन्ट परिचालन गरेको छ । वीरगञ्ज नाका भएर प्रवेश गर्ने विदेशीहरुको सामान्य स्वास्थ्य परीक्षण मात्र गरिन्छ भने भारतीयहरुलाई स्वास्थ्य परीक्षण नगरी हाते पम्पलेट मात्र दिइन्छ ।
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण फेला परिसकेकोले नेपालले भाइरस सर्न नदिने उच्च सतर्कता अपनाउनुपर्ने हो तर खुला नाका हुँदै भित्रिने यात्रुमाथि नेपालको तिनै तहको सरकारले गम्भीरता भने देखाएको पाइदैन । औपचारिकताका लागि मात्र सिमानामा हेल्थ डेस्क राखिएको छ । हेल्थ डेस्कमा दक्ष जनशक्ति र परिक्षण गर्ने प्रविधिको अभाव देखिएको छ ।
हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले यात्रुसँग तपाईको स्वास्थ्यको अवस्था कस्तो छ, ज्वरो आएको छ कि छैन, खोकी लाग्छ कि लाग्दैन भन्ने प्रश्न गरेर मात्र नेपाल भित्रन दिनुपर्ने बाध्यता छ । वीरगञ्ज नाका भएर तेश्रो मुलुकबाट नेपाल आएकाहरुमध्ये विगत एक महिनामा १४३ जनाको परिक्षण गरिएको र तीमध्ये ३२ जना चिनिया नागरिक रहेकाे हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले बताए ।तेश्रो मुलुकबाट आएका पर्यटकहरुको मात्र चेकजाँच भएको र खुल्ला सिमानाका कारण भारतीयहरूलाइ भने सोधपुछ मात्र गर्ने गरिएको उनकाे भनाइ छ ।