निजगढ–काठमाण्डौ द्रूतमार्ग र निजगढ विमानस्थल देशको आवश्यकता हो ःरक्षा मन्त्री पोखरेल
वीरगंज संजाल
२१ फाल्गुन २०७६, बुधबार १२:१९
४४९६
निजगढ | उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले निजगढ–काठमाण्डौ द्रूतमार्ग र निजगढ अन्तराष्ट्रिय विमानस्थल देशको आवश्यकता भएको बताएका छन् ।राष्ट्रिय गौरवका रुपमा लिईएका दुबै आयोजना देश बिकासका लागि अपरिहार्य भएको भन्दै उनले जुनसुकै हालतमा पनि निर्माण हुने बताए ।
बाराको निजगढ नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री समेत पोखरेलले देशको भाग्य भबिष्य बदल्ने यी आयोजनाहरु कुनै हालतमा नरोकिने बताए ।द्रुतमार्गको ट्रयाक खोल्ने र सम्याउने काम अन्तिम चरणमा रहेका भन्दै मन्त्री पोखरेलले पुल र सुरुङका लागि ग्लोबल टेण्डर आव्हान प्रकृया सुरु भएको जानकारी गराए । भने, ‘दु्तमार्गको काम तिब्र रुपमा अगाडि बढीरहेको छ । पुल र सुरुङ मार्गका लागि टेण्डर प्रकृया सुरु भएलगत्तै परिणाम देखिने गरी काम हुने छ ।’
देशको भबिष्य बदलिएको देख्न नचाहानेहरुले दु्रतमार्ग निर्माणमा बिभिन्न अवरोध श्रृजना गर्ने गरेको भन्दै उनले भने, ‘काम हामिले गर्ने हो, हामि पुरा गर्छौँ । नहोस् भनेर धुप हाल्नेहरुको केहि चल्दैन ।’जुन योजना र उद्देश्यका साथ अगाडी बढाइयो सोही उद्देश्यअनुसार काम भैरहेको भन्दै पोखरेलले सेनाले समयमै काम सम्पन्न गर्नेमा बिश्वस्थ हुन समेत आग्रह गरे ।
त्यसैगरी निजगढ अन्तराष्ट्रिय विमानस्थलतर्फ ईंकित गर्दै मन्त्री पोखरेलले राष्ट्रिय आवश्यकतालाई कसैले रोकेर नरोकिने बताए । विमानस्थल निर्माण प्रकृया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको समयमा उपप्रधानमन्त्री पोखरेलले भने राष्ट्रिय आवश्यकतालाई कसैले रोकेर नरोकिने बताएका हुन् ।
केहि ब्यक्तीले कानुनसम्मत ढंगले मुद्धा दायर गर्दा अदालतले प्रतिकृया जनाउनु स्वभाबिक भएको भन्दै उनले अदालतको आदेशको सम्मान गरेरै अगाडी बढ्ने समेत बताए ।‘यो विमानस्थल कुनै लहर र रहरमा बनाउन खोजेको होईन, आवश्यकताले बनाउन खोजेको हो ।’ उनले भने, ‘काठमाण्डौका लागि फाष्ट ट्रयाकसँग जोडिएको कुरा हो विमानस्थल, जब फाष्ट ट्रयाक बन्छ भने विमानस्थल समेत बन्छ र बन्नैपर्छ ।’