जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको फागुन २२ गतेका लागि बोलाइएको बैठक एक हप्ता पछि सारिएको छ । अब फागुन ३० गते बैठक बस्ने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए ।२२ गते प्रदेश सभाको बैठक बसी २३ गते प्रदेशको नाम र स्थायी राजधानी तोक्ने सन्दर्भमा मतदान गर्ने तय भएको थियो ।सभामुख सरोजकुमार यादवले मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा बैठक सारिएको जानकारी दिए । ‘म्ख्यमन्त्रीज्यूले यो बीचमा आफ्नो केही व्यस्तता रहेकाले सार्न आग्रह गरेपछि बैठक सारिएको हो’ उनले भने ।
सभामुख यादवका अनुसार ३० गते बैठक बसेर मतदानको कार्यविधि बनाएर चैत १ गते मतदान हुनेछ ।प्रदेशको स्थायी राजधानी जनकपुरलाई नै राख्ने विषयमा दलका नेताहरुबीच सहमति भइसकेको छ । यद्यपी नामाकरणमा सहमति हुन सकेको छैन ।सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले ‘मधेश’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ र केहि सांसदले ‘मध्य मधेश’ नाम राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।सभामुख यादवले मुख्यमन्त्रीको व्यस्तताका कारण बैठक सारिएको बताए पनि आगामी होली पर्वमा समेत आन्दोलन हुन सक्ने कुरालाई मध्यनजर गर्दै बैठक सारिएको छ ।
तराईमा होली पर्व फागुन २७ गते पर्छ ।
स्रोतका अनुसार प्रदेशको स्थायी राजधानी जनकपुरधाम बनाउने राजनीतिक सहमति भइसकेको आधारमा मतदानबाट तय नै भएपछि बीरगंजमा आन्दोलन हुन सक्ने भन्दै बैठक सारिएको हो ।होली जस्तो सामाजिक सद्भावको पर्वमा आन्दोलन नहोस् भन्नका लागि नै बैठक सारिएको स्रोतले जानकारी दिएको छ ।