एजेन्सी । ‘ड्रग्सका भगवान्’ नामले चर्चित पाब्लो एस्कोबरका दाजुले अनौठो स्मार्टफोन सार्वजनिक गरेका छन् । ७१ वर्षीय रोबार्टो एस्कोबरले सार्वजनिक गरेको गोल्डेन कलरको फोल्ड गर्न मिल्ने फोनलाई उनले एस्कोबार फोल्ड १ नाम दिएका छन् ।
उनको कम्पनी ‘एस्कोबार इङ्क’ का प्रमुख कार्यकारी अधिकृत गुस्ताफसनले सीएनएनसँग बताएअनुसार सो फोनको स्क्रिन एक विशेष किसिमको प्लाष्टिकले बनेको छ जसकारण यो कसैगरी नफुट्ने बताइएको हो । त्यसैले पनि यो स्मार्टफोन बजारको सबैभन्दा टिकाउ स्क्रिन भएको उनले दाबी गरेका हुन् । यसको मूल्य ३४९ डलरबाट सुरु हुन्छ भने यसले एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग गरेको छ । गुस्तफसनले भनेका छन्, “हाम्रो फोन अत्यन्तै कठोर परीक्षणबाट गुज्रिएको छ । त्यसैले यसलाई नष्ट गर्ने वा फुटाउने एक मात्र तरिका आगोमा जलाएर हुन सक्छ । र मेरो विचारमा प्रायः मोबाइल प्रयोगकर्ताको फोन आगोमा पर्दैन । ”
सो कम्पनी रोबार्टोले १९८४ मा स्थापना गरेका थिए । भाइ जसरी नै रोबर्टो पनि ड्रग्सको मुद्दामा १० वर्ष जेल परिसकेका छन् । कैदबाट छुटेपछि उनले आफ्नो व्यवसाय सुरु गरेका हुन् । यसरी १९९३ मा जेलमा भएको बम हमलापछि सुन्न र देख्नमा केही समस्या रहेका रोबर्टो अहिले सामसङ ग्यालेक्सी फोल्डको मार्गमा हिँड्ने सपना देखिरहेका छन् । उनले संचार माध्यम सिएनएनसँग भने, ”हामी यस प्रतिस्पर्धामा अघि आउन चाहन्छौँ । यसमा फोल्ड गर्न मिल्ने मोबाइल व्यवहारिक मूल्यमा विक्री गर्न सक्यौँ भने हामीले धेरै ग्राहक आकर्षित गर्न सक्नेछौँ र अहिले त्यही भइरहेको छ । ” सीएनएन