वीरगञ्ज | श्रुति साह । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक सहायता गुल्म वीरगञ्जले आज वीरगञ्ज महानगरपालिका–१६ स्थित दुई फरक स्थानबाट झण्डै १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले भारतबाट अबैध रूपमा नेपाली रुपैयाँ चोरी पैठारी गरी ल्याएको प्रहरीले जनाएको छ।
पहिलो घटनामा, BR05AT0475 नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पर्सा जिल्ला, वीरगञ्ज–२ छपकैयाका १९ वर्षीय राहुल कुमार तिवारीले मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाएर ल्याएको रु. १३,००,००० नगद सहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्ज भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि उक्त मोटरसाइकल जाँच गर्दा लुकाइएको रकम फेला परेको हो।
उक्त नगदसहित तिवारी र प्रयोग गरिएको मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
यस्तै गरी दोस्रो घटनामा सोही दिन, सशस्त्र प्रहरी गुल्मबाट खटिएको अर्को टोलीले वीरगञ्ज–१६ स्थित भन्सार गेट नजिकै भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका बारा, प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय कौशल कुमार गुप्तालाई नियन्त्रणमा लिएको छ। उनीले आफ्नो शरीरका विभिन्न भागहरूमा लुकाएर ल्याएको रु. ५,००,००० नगद बरामद गरिएको छ।
गुप्ता सवार ना ४७ प ९७१० नम्बरको HERO Glamour मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
दुवै घटनामा संलग्न व्यक्तिहरू र प्रयोग भएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।