ढल्केबर । धनुषाको सबैला नगरपालिका –६, गोविन्दपुरमा रहेको प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन गर्दा नवौं शताब्दीतिरको लिच्छविकालीन अवशेषहरु भेटिएका छन् ।
पुरातत्व विभागले पुनः उत्खनन गर्दा माटोको गजुर, मूर्तियुक्त ढुङ्गालगायत महत्वपूर्ण पुरातात्विक अवशेषहरु भेटिएको हो ।
यसअघि गत वर्ष असारमा गरिएको उत्खननमा पनि आठौं–नवौं शताब्दी तिरका लिच्छविकालीन भग्नावशेष फेला परेका थिए । सबैलाई नगरपालिकाको पहलमा पुरातत्व विभागले यहाँ पुनः उत्खनन गरिएको हो ।
पुरातत्व विभागका पुरातत्वविद् प्रकाशन दर्नालले दोस्रो चरणको उत्खननमा माटोले बनेको मन्दिरको गजुरका टुक्रा, २५ वटा मूर्तियुक्त ढुङ्गालगायत धार्मिक सामग्री भेटिएको बताउनुभयो । उनले यसअघि गरिएको उत्खननमा भेटिएको एउटा महत्वपूर्ण ढुङ्गाको उल्लेख गर्दै भन्नुभयो, “ढुङ्गामा लिच्छविकालीन लिपिमा ’माना’ लेखिएको भेटिएको थियो, तर अगाडि र पछाडिका अक्षर मेटिएकाले यसको पूर्ण अर्थ खुल्न सकेको छैन ।”
दर्नालका अनुसार उत्खनन गरिएको भग्नावशेष हेर्दा कुनै प्राचीन मन्दिरकै स्वरूप देखिन्छ । तर मठेश्वरनाथ मन्दिर ठ्याक्कै यही हो कि होइन भन्ने यकिन हुन बाँकी रहेको र अन्तिम अध्ययनपछि मात्र निष्कर्ष निकालिने जानकारी दिनुभयो ।
उत्खनन स्थलको पश्चिमतर्फ प्रवेशद्वार रहेको र उत्खनन त्यहींबाट थालिएको थियो । मन्दिरको माथिल्लो भागमा सिमेन्ट र पुराना इँटाहरुले ढाकिएको पाइएको छ । तल्लो भागमा इन्टरलक शैलीमा राखिएका ठूलो आकारका ढुङ्गाहरु भेटिएको दर्नालको भनाइ छ ।
उहाँका अनुसार यस पटक उत्खनन गर्दा मन्दिरको गहिराइ र पर्खालको फैलावट समेत मापन गरिएको छ । भग्नावशेषको स्वरूप हेर्दा दक्षिणपूर्व कुनामा समेत यस्तै संरचना हुनसक्ने आधार भेटिएका छन् ।
दर्नालले मिथिलाको सभ्यता काठमाडौं उपत्यकाभन्दा पुरानो भएको उल्लेख गर्दै पूर्वमा कोशीदेखि पश्चिममा गण्डकीसम्म फैलिएको प्राचीन मिथिला क्षेत्रका अवशेष भेटिने सम्भावना औंल्याउनुभयो । “मौर्य, गुप्त, ब्रिजी सङघ र मिथिला सभ्यताको प्रमाण लुकेको हुनसक्ने उहाँले थप्नुभयो ।
उहाँले भन्नुभयो, “उत्खनन क्रममा भेटिएका शिल्पकला र आकृतिहरू बुद्धकालीन शिल्पशैलीसँग सामीप्य राख्छन् । ढुङ्गामा कुँदिएका मूर्तिहरू, गजुरका टुक्रा, चिलम, इँटा र अन्य धार्मिक सामग्रीले मन्दिर नवौं शताब्दीको अन्त्यतिरको हुन सक्ने सङ्केत गर्छ ।”
उत्खनन्मा संलग्न इन्जिनियर सुरेन्द्र पजियारले अहिलेसम्म विभिन्न पुरातात्विक अवशेषसँग दुईवटा छुट्टाछुट्टै मन्दिरका भग्नावशेष फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो मन्दिरको संरचना अनुमानित ५०–६० फिट अग्लो र दोस्रो मन्दिर १५–२० फिट अग्लो हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीय सत्यनारायण मण्डलका अनुसार २०३३–३४ सालतिर झोपे मल्ल नामक व्यक्तिले मन्दिर खन्न लगाएका थिए । त्यतिखेर बहुमूल्य वस्तु भेट्ने आशाले मन्दिर खनिएको र त्यहीबेला ढुङ्गाहरु निकालेर फालिएको उहाँले दाबी गर्नुभयो । अर्का स्थानीय विन्देश्वर यादवले मल्ल र एक अघोरी बाबाले यो स्थानमा खन्न लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “खनेपछि ढुङ्गाहरू छरपस्ट पारिएको थियो । पछि इनारबाट इँटा झिकेर माथि जडान गरेका थिए ।”
स्थानीयको दाबीअनुसार यो स्थानमा मिथिलाका राजा जनकले बनाएको मठेश्वरनाथ मन्दिर थियो । जनकपुरधामबाट समान दूरीमा राजा जनकले चारवटा मठ निर्माण गरेको जनविश्वास छ । जलेश्वरको जलेश्वरनाथ, क्षीरेश्वरको क्षीरेश्वरनाथ, भारतको कल्नाको कल्याणेश्वरनाथ र गोविन्दपुरको मठेश्वरनाथ । अन्य तीन मन्दिर अहिले पनि अस्तित्वमा छन् भने मठेश्वरनाथ मन्दिर विलुप्त भएको मानिन्छ । यो मन्दिर त्यही हुनसक्ने स्थानीयको भनाइ छ ।
सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले मठेश्वरनाथ मन्दिरको उत्खननले मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षदेखि मन्दिरको डीपीआर तयार गरी पुरानै शीलीमा पुनर्निर्माण थालिने जानकारी दिनुभयो ।
उहाँले उत्खनन जारी रहेको स्थानबाट अझै महत्वपूर्ण ऐतिहासिक सामग्री फेला पर्ने विश्वास व्यक्त गर्दै मन्दिर क्षेत्रको उचित संरक्षण र प्रचार–प्रसारले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो ।