चन्द्रपुर । नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण सङ्घ, रौतहट, रौतहट सुनचाँदी व्यवसायी सङ्घ तथा चन्द्रपुर सुनचाँदी व्यवसायी सङ्घले सुन र सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर र हीरा–जवाहरात जडित गहनामा लागु गरिएको ९ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न माग गरेको छ ।
सङ्घले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मनीष झामार्फत नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाल सरकारले आर्थिक वर्ष २०८२-०८३ को बजेट मार्फत लागु गरेको करका कारण व्यवसाय सञ्चालनमा गम्भीर चुनौती उत्पन्न भएको जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण सङ्घ, रौतहटका अध्यक्ष उमेश साहले सुनको मूल्य निरन्तर बढ्दै गएको र विभिन्न नाममा थपिएका करहरुले व्यवसायमा सङ्कटको अवस्था सिर्जना भएको बताउनुभयो । सरकारसँग बारम्बार आग्रह गर्दा पनि मागको सुनुवाइ नभएपछि आन्दोलनका कार्यक्रम गर्नुपरेको उहाँले बताउनुभयो ।
ज्ञापन पत्र बुझाउने क्रममा चन्द्रपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष भीमबहादुर विश्वकर्माले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रुपमा प्रोत्साहित गर्न छिटो नियम तथा नीतिहरु निर्माण गरिनुपर्ने तथा निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिनुपर्ने बताउनुभयो ।
सङ्घले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रुपमा प्रोत्साहित गर्न ऐन, नियम तथा नीतिहरुको निर्माण, कर संरचना परिवर्तन गर्न पूर्व व्यवसाय, रोजगारी र बजारमा पर्ने असरबारे विस्तृत अध्ययन, व्यवसायमैत्री नीति, निर्माणमार्फत सुनचाँदी क्षेत्रलाई स्थायित्व प्रदान गर्न माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रशासकीय अधिकृत झाले व्यवसायीहरुको ज्ञापन पत्र माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीलाई पठाइ सङ्घका जायज मागहरु सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घको आह्वानमा रौतहटका सम्पूर्ण सुनचाँदीका पसल बिहीबार र शुक्रवार बन्द छन् ।