रौतहट । कटहरिया म्युझिकल एफएमका पत्रकार रविन्द्र प्रजापति र सागर संगम ठाकुरमाथि कुटपिट तथा गालीगलौज भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
महासंघ रौतहट शाखाका अनुसार कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवालको नेतृत्वमा सञ्चारकर्मीहरूलाई घरभित्र बोलाएर कुटपिट र अपशब्द प्रयोग गरिएको हो। सञ्चारकर्मीहरूले खानेपानीसम्बन्धी समाचार प्रसारण गरेपछि उनीहरूलाई लक्षित गरी यस्तो हमला गरिएको जनाइएको छ।
महासंघले जनप्रतिनिधिजस्तो जिम्मेवार व्यक्तिबाट सञ्चारकर्मीमाथि भएको उक्त व्यवहारलाई अशोभनीय, अराजक र स्वतन्त्र पत्रकारितामाथिको हमला भनेको छ। समाचारप्रति चित्त नबुझ्दा कानुनी प्रक्रिया अपनाउन सकिने स्पष्ट बाटो हुँदाहुँदै यस्तो ज्यादती गर्नु आपत्तिजनक भएको महासंघको ठहर छ।
महासंघले घटनाको भर्त्सना गर्दै दोषीमाथि छानबिनसहित कारबाहीको माग गरेको छ। साथै, स्वतन्त्र, सुरक्षित र निर्वाध पत्रकारिता अभ्यास गर्न सकिने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरिएको छ।