काठमाडाैं। न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेकाे परिषद्काे बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन्। शुक्रबार नै चारैजनाको कार्यक्षेत्र पनि तोकिएको छ।
भट्टराईलाई उच्च अदालत बिराटनगर तोकिएको छ भने कुँवर पाटनमा रहनेछन्। भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशको जिम्मेवारी तोकिएको छ।
न्यायपरिषद बैठकले बैदेशिक रोजगार न्यायाधीकरणमा काजमा रहेका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी उच्च अदालतको बीरगञ्ज इजलासमा सरुवा भएका छन्।
परिषदले उच्च अदालतको हेटौडा इजलासमा कार्यरत न्यायाधीश डा. शान्ता शेढाई सापकोटालाई बैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष तोकेको छ।