वीरगंज ।श्रुति साह । आसन्न मनसुन तथा प्राकृतिक र मानवजन्य सम्भावित विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.वा. पर्साको आयोजना र वीरगंज महानगरपालिकाको संयोजनमा “समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” को शुभारम्भ गरिएको छ। तालिमको शुभारम्भ वीरगंज महानगरपालिकाको सभाहलमा सोमवार एक औपचारिक कार्यक्रमबीच सम्पन्न भएको हो।
तालिममा वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न वडाबाट ३० जना प्रशिक्षार्थीहरू सहभागी छन्। २१ कार्यदिने यो तालिमले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्ने लक्ष्य लिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थिति थियो। विशेष अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष बृजकिशोर पटेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गर्नुभएको थियो। तालिमले विपद्को पूर्वतयारी, तत्कालीन उद्धार तथा राहत कार्यमा स्थानीय समुदायको सहभागिता सुदृढ गर्दै दीगो समाधानतर्फ ठोस कदम अगाडि बढाउने अपेक्षा गरिएको छ।
सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार, तालिम सम्पन्नपश्चात सहभागी स्वयंसेवकहरूलाई आवश्यक उपकरणसहित विपद् व्यवस्थापनमा सक्रिय रूपमा परिचालन गरिने छ।