बारा | प्रहरी कारवाहीको क्रममा बारा जिल्लाका विभिन्न स्थानमा सञ्चालित अवैध मदिरा भट्टीहरूमा छापा मार्दै प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा नष्ट गरेको छ। माघ २१ गते विभिन्न प्रहरी इकाइ कार्यालयहरूबाट खटिएको टोलीले ७ वटा अवैध मदिरा भट्टीमा छापा मारेर ४ लाख १३ हजार रुपैयाँ बराबरको मदिरा नष्ट गरेको हो।
इ.प्र.का. महेन्द्रआदर्श, बाराले आदर्शकोतवाल गा.पा. वडा नं. ५ टेराकट्टीमा १,१०० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ, जसको अनुमानित मूल्य ६६,००० रुपैयाँ रहेको छ। गंजभवानीपुर प्रहरी चौकीले महागढीमाई न.पा. वडा नं. ३ र १० मा ८०० लिटर कच्चा पदार्थ फेला पारेर ४८,००० रुपैयाँ बराबरको मदिरा नष्ट गरेको छ।
डुमरवाना अस्थायी प्रहरी पोष्टले जीतपुरसिमरा उ.म.न.पा. वडा नं. १४ र १५ मा २,४०० लिटर कच्चा पदार्थ र ४०० लिटर तयारी मदिरा बरामद गरी १,८४,००० रुपैयाँ बराबरको मदिरा नष्ट गरेको छ। त्यस्तै, जैतापुर प्रहरी चौकीले जीतपुरसिमरा उ.म.न.पा. वडा नं. १७ र १८ मा १,५०० लिटर कच्चा पदार्थ र २५० लिटर तयारी मदिरा बरामद गरी १,१५,००० रुपैयाँ बराबरको मदिरा नष्ट गरेको छ।
प्रहरीले अवैध मदिरा नियन्त्रण तथा यसको उत्पादन र बिक्रीमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित कारबाहीलाई निरन्तरता दिने जनाएको छ। स्थानीय प्रशासन र प्रहरीको संयुक्त प्रयासमा जिल्लामा अवैध मदिरा नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।