वीरगञ्ज । मधेश प्रदेशको आर्थिक राजधानी वीरगञ्जस्थित घण्टाघर चौकमा दैनिक कामको खोजीमा झिसमिसे बिहानदेखि मध्यान्हसम्म युवाहरू भौतारिरहेका हुन्छन्। राज्य प्रतिको उदासीनताप्रति उनीहरू असन्तुष्ट देखिएका छन्।
पर्साको वीरगञ्जको मुख्य चौक घण्टाघर विगत दुई दशकदेखि श्रमिक बजारका रूपमा परिचित छ। यहाँ दैनिक तीन सयदेखि चार सय श्रमिकहरू कामको आशमा बिहान आठ बजेभन्दा अगाडि नै आइपुग्छन्। तर, मुस्किलले पचासदेखि साठी जनाले मात्र काम पाउने गरेका छन्। काम नपाएका श्रमिकहरूले दिउँसोको एक बज्दा निराश भएर घर फर्किनुपर्ने बाध्यता रहेको बताउँछन्।
जितेन्द्र प्रसाद साह, प्रसौनी बाराका एक श्रमिकले भने, “कामको खोजीमा यहाँ आउँछौं तर दैनिक काम पाउने सम्भावना निकै कम छ।” जंगबहादुर राउत, त्रिवेणी बाराका एक युवा श्रमिकले भने, “हामी बिहानदेखि यहाँ कुरेर बस्छौं तर काम नपाउँदा निराश भएर फर्कनु पर्छ।” राकेश यादव, पर्सागढी नगरपालिका वडा नं ७ टिकुलियाका श्रमिकले भने, “काम खोज्न आउन त आउँछौं, तर बस्न र साइकल राख्न समेत ठाउँ छैन।”
यो श्रमिक बजारमा ग्रामीण क्षेत्रबाट साइकल कुदाएर आएका युवाहरूको गुनासो धेरै छ। उनीहरूका अनुसार, यहाँ बस्न र साइकल राख्न ठाउँ नहुनु, ट्राफिक प्रहरी र प्रशासनले बारम्बार अन्यत्र जान दबाब दिनु जस्ता समस्याले कामको खोजी झन् कठिन बनाएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं १८ सौराहाका श्रमिक रामेश्वर यादव भन्छन्, “प्रहरी प्रशासनले कहिले ट्राफिक जामको कारण देखाउँछ, कहिले भीडभाडको समस्या भन्दै हामीलाई हटाउँछ। महानगरपालिकाले पनि श्रमिकहरूको लागि निश्चित ठाउँको व्यवस्था गरेको छैन।”
श्रमिकहरूले चुनावको समयमा ठूला ठूला वाचा गर्ने नेताहरूले श्रमिकहरूको समस्या कहिल्यै नसुनिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार, स्थानीय सरकारले श्रमिकहरूको लागि सुरक्षित र व्यवस्थित काम गर्ने वातावरणको सृजना गर्नु आवश्यक छ।
वीरगञ्ज महानगरपालिका र सम्बन्धित निकायहरूले श्रमिकहरूको समस्या समाधान गर्न पहल नगर्ने हो भने यो समस्या झन् गम्भीर बन्ने देखिन्छ। सरकारका तर्फबाट रोजगारको व्यवस्था नहुन सक्छ, तर श्रमिकहरूले शान्तिपूर्ण तरिकाले काम खोज्न र आफ्नो श्रम बिक्री गर्न सक्ने सुरक्षित ठाउँको व्यवस्था गर्नु अत्यावश्यक देखिन्छ।
देशका कर्णधार मानिने युवाहरू दिनभर कामको खोजीमा भौतारिन बाध्य हुनु दुर्भाग्यपूर्ण अवस्था हो। स्थानीय सरकार र प्रशासनले श्रमिकहरूको समस्या समाधान गर्दै उनीहरूका लागि सुरक्षित र व्यवस्थित श्रमिक बजारको सृजना गर्न तत्परता देखाउनुपर्छ। श्रमिकहरूको बाँच्न पाउने र काम गर्ने अधिकारको सम्मान गर्दै आवश्यक वातावरण सिर्जना गरिनु अहिलेको आवश्यकता हो।