वीरगञ्ज । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम तत्काल अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देशन दिएको हो ।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ ।संसदीय समितिको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने ।’
संसदीय समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन पनि निर्देश गरेको छ ।व्यावसायिक योजनालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेस गर्न भनिएको पनि छ ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबिच सम्झौता, समन्वय एवं पहलकदमी लिन पनि समितिले निर्देशन दिएको छ ।पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्य योजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन पनि भनिएको छ ।