वीरगञ्ज । पर्साको हरपतगञ्जबाट प्रहरीले ५० केजी लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २० स्थित हरपतगञ्ज चौकबाट करिब ५०० मिटर पश्चिमको कुलोको बाटोमा पक्राउ गरिएको हो।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, टाउकोमा प्लास्टिकको बोरामा गाँजा बोकी हिँड्दै गरेका चार जनालाई नियन्त्रणमा लिइएको हो। बोराभित्र रातो प्लास्टिकले बेरी राखिएका चार पोकामा ५० केजी गाँजा भेटिएको छ।
पक्राउ परेका व्यक्तिहरूमा पर्सा, बहुदरमाई नगरपालिका वडा नं. १ का ४० वर्षीय पारस यादव, सोही ठाउँका ५२ वर्षीय मैनादिन मियाँ, वडा नं. ७ तिनटोलियाका ३६ वर्षीय अकवर मियाँ, र सोही वडाको छप्कैया टोलका ४५ वर्षीय शिव महतो छन्।
उनीहरूमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।
प्रहरीको यो सफलताले लागुऔषध नियन्त्रणमा थप योगदान गरेको र गाँजाको कारोबारमा संलग्न अन्य व्यक्तिहरूमाथि समेत अनुसन्धान गरिने बताइएको छ।