वीरगंज | हालका दिनहरूमा बारा जिल्ला अपराधीहरूको अड्डा बनिरहेको छ। दिदहादै लूटपाट, डकैती, गोली प्रहार र हत्या जस्ता घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। यस क्रममा शान्ति सुरक्षामा प्रहरी प्रशासनको भूमिका निकै कमजोर देखिएको छ। खुला सिमाना भएका कारण अपराधीहरूको मनोबल बढेको र भारतीय प्रहरीसँगको समन्वयको अभावले गर्दा नेपालको प्रहरी प्रशासन अपराधको गतिविधि नियन्त्रण गर्न असफल भइरहेको छ।
हिजो महागढीमाई नगरपालिका वडा नं १ सेमरा तेगछीया सानो टोलमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ६० वर्षीय श्रीनारायण यादव उपचारको क्रममा मृत्यु भएका छन्। यादवमाथि अज्ञात समूहले बेलुका ८ बजेतिर आक्रमण गरेको थियो। घटना स्थलमा सयौंको संख्यामा प्रहरीलाई परिचालन गरिएको छ भने शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।
त्यस्तै, केही दिन अघि कलियाबाट एक वृद्धको साथबाट ५० हजार रुपैयाँ डराएर लुटिएको थियो। एक जना क्याम्पस प्रमुखलाई निर्दयी ढंगले हत्या गरिएको घटनाले बारा वासीमा त्रास फैलाएको छ। बालएकता बोडिङ स्कूलका प्रधानाध्यापक रुपेश सराफको दिनदहाडै हत्या भए पनि प्रहरीले कुनै प्रभावकारी कदम चालेको छैन।
अब प्रश्न उठ्छ, यो कस्तो संयोग हो? बारा जिल्लामा साँचिकै सुरक्षा कमजोर बनिरहेको हो? प्रहरी प्रशासनको कमजोरीले बारा वासीलाई त्रासको माहौलमा राखेको छ, जसले सुरक्षा र शान्तिको लागी गम्भीर चुनौती निम्त्याएको छ।