वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेकपा एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराधको रूपमा चित्रित गरेको भन्दै कडा आपत्ति जनाएका छन्। उनले एमालेको यो प्रवृत्तिलाई नाजीवादी सोचसँग तुलना गर्दै यसको घोर विरोध गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार प्रतिक्रिया जनाउँदै अध्यक्ष साहले भने, “शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्ने र आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच हो।” साहका अनुसार, शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन पाउनु सबै नागरिकको मौलिक अधिकार हो, तर एमालेले यसको दमन गर्न खोजिरहेको छ। उनले एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा सडकमा भइरहेको आन्दोलनलाई नियन्त्रण गर्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गरे।
साहको यस टिप्पणीसँगै एमाले महासचिव शंकर पोखरेलले पनि बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र सेवकलाई कानुनबमोजिम काम गर्न नदिन पाँच जना भन्दा बढीको भेला गर्न वा गराउनु कानुनविपरीत हुने बताएका थिए। पोखरेलले यस्ता भेलामा सहभागी नहुन प्रहरीद्वारा गरिएको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कानुनी रूपमा कसुरदार हुनेतर्फ सबैलाई सचेत गराएका थिए।
साहले भनेका छन् कि, शान्तिपूर्ण आन्दोलन दमन गर्ने यो प्रवृत्ति लोकतान्त्रिक मान्यताहरूको विपरीत छ र यो मुलुकमा डर र त्रासको वातावरण सिर्जना गर्ने रणनीति हो।