वीरगंज | पर्साको पटेर्वा सुगौली गाँउपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि संघ सरकारले दिने भनेको बजेट समयमै उपलब्ध नहुदाँ निर्माण कार्य प्रभावित भएको छ ।
पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ दापासुगौलीमा ६ करोड ९ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न ३ तल्ले प्रशासनीक कार्यालयको भवन विगत ९ महिनादेखि निर्माणाधिन अवस्थामा छ ।उक्त भवन निर्माणका लागि संघ सरकारको शहरी विकास मन्त्रालयले लागतको ६० प्रतिशत अर्थात करिब ३ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनु पर्नेमा अहिलेसम्म ३० लाख रुपैयाँमात्र निकासा भएर आएको र बाँकी गाँउपालिकाको कार्यालय आँफैले खर्च गरेको गाँउपालिका अध्यक्ष दिनेशप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार, निर्माणधिन भवनमा अहिलेसम्म तीन वटै तल्लाको ढलान सकेर प्लाष्टरसमेत भइसकेको छ भने अब झ्याल ढोका, शौचालय, वायरिङ र रंगशोगन लगायतको काम बाँकी छ ।
रकम अभावले काम प्रभावित भएपछि बुधबार गाँउपालिका अध्यक्ष चौधरीसहितको टोलीले काठमाडौंमा पुगेर उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर रकम निकासाका लागि आग्रह गरेको छ । वडाध्यक्ष विजय गैरेसहित मन्त्रालयमै गएर मन्त्री सिंहलाई भेटेको टोलीले रकम अभावले काम प्रभावित भएकाले छिट्टै रकम निकासाका लागि पहल गरिदन आग्रह गरिएको गाँउपालिका अध्यक्ष चौधरीले मधेसखबरलाई जानकारी गराए ।
जवाफमा मन्त्री सिंहले भवन निर्माण कार्यको हालसम्मको प्रगतीबारे जानकारी लिदैं मन्त्रालयबाट निकासा हुन बाँकी रहेको रकम छिट्टै निकासा गराउनका लागि आँफुले पहल गरिदिने आश्वासन दिएको अध्यक्ष चौधरीले मधेसखबरलाई जानकारी गराए ।
अध्यक्ष चौधरीका अनुसार, गाँउपालिकाको सुविधासम्पन्न तीन तल्ले प्रशासनिक भवन निर्माणको शिलान्यास २०८० फाल्गनुमा गरिएको थियो ।
संघ सरकारले सम्झौता अनुसारको रकम समयमै नपठाएपनि गाँउपालिका आँफैले जेनतेन रकमको जोहो गरेर अहिलेसम्म काम सुचारु नै राखेको भएपनि अब भने संघ सरकारबाट आउनु पर्ने रकम समयमै नआउँदा काम गर्न समस्या भइरहेको गाँउपालिका अध्यक्ष चौधरीले बताए ।