वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
कलैयामा एक जना सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
हेटौँडाबाट आएको अख्तियारको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा बिहीबार सेवाग्राहीसँग घुस रकम लिँदै गरेको बेला साहलाई पक्राउ गरेको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।
सूचना अधिकारी गौतमका अनुसार, बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साह अख्तियारको फन्दामा परेका हुन् ।
साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि हेटौँडास्थित अख्तियारको कार्यालयमा लिएर गएको गौतमले जानकारी दिए ।