रौतहट। रौतहटको कटहरिया नगरपालिका २ स्थित जमुनिया गाउँमा खेतमा परालले छोपेर राखिएको अवस्थामा १६ क्युफिट सालको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय रौतहटको सहायक अधिकृत एवं सेक्टर वन प्रमुख राजेश कुमार साहको नेतृत्वमा खटिएको संयुक्त टोलीले उक्त काठ फेला पारेको हो।
सूचनाको आधारमा खटिएको उक्त टोलीमा सेक्टर वन कार्यालय जंगलसहिया र सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डाका सुरक्षाकर्मीहरू संलग्न थिए। रामजनम दासको खेतमा राखिएको परालले छोपिएको ४ वटा सालको गोलिया काठ बरामद गरिएको छ।
बरामद काठलाई आवश्यक कारबाहीका लागि सेक्टर वन कार्यालय जंगलसहिया पुर्याइएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।
तिहार पर्वको अवसरमा धेरै वन कर्मचारी तथा सुरक्षाकर्मी बिदामा भएको मौका छोपेर तस्करहरूले निर्बाध रूपमा काठ चोरी निकासी गर्ने गरेको वन कार्यालयले बताएको छ।