वीरगञ्ज | सशस्त्र प्रहरीले पर्साको विभिन्न नाकाबाट १८ लाख ५८ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका अनुसार शनिबार र आइतबार गरिएको नियमित चेकजाँचका क्रममा यी अवैध सामान बरामद भएका हुन्।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा नजिकका नाकाबाट १४ लाख ६० हजार रुपैयाँभन्दा बढीका किराना, कपडा, कस्मेटिक्स, मोटर पार्ट्स, मोबाइल एसेसोरीज, इलेक्ट्रोनिक्स र मेडिकल सामग्री बरामद गरेको छ।
यस्तै, बोर्डर आउट पोष्ट ड्राइपोर्टबाट खटिएको अर्को टोलीले चण्डाल चोकमा जाँच गर्दा १ लाख ६९ हजार रुपैयाँ बराबरका जुत्ता, कपडा र किराना सामान बरामद गरेको छ।
शनिबार, अलौको टोलीले वीरगञ्ज महानगरपालिका–१९ बर्वा क्षेत्रमा गरेको चेकजाँचबाट २ लाख २८ हजार रुपैयाँ बराबरका किराना, इलेक्ट्रिक उपकरण, मोटर पार्ट्स र खेलौनाका सामग्री बरामद गरिएको थियो।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित चेकजाँच गर्दै अवैध व्यापार र भन्सार छलीका गतिविधिहरू नियन्त्रणमा निरन्तर कडाइ गरिरहेको बताएको छ।
सशस्त्र प्रहरीको सक्रियताले पर्सा जिल्लाका सीमा क्षेत्रहरूमा हुने अवैध सामानको ओसारपसारमा कमी आएको देखिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका अनुसार, सीमा क्षेत्रमा निरन्तर चेकजाँच र निगरानीले भन्सार छलीका गतिविधिहरूमा कडाइ गरिँदै आएको छ।
उनीहरूले अवैध व्यापार नियन्त्रण गर्नका लागि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै आएको र सामानहरूको अवैध ओसारपसार रोक्नका लागि सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइरहेको जानकारी दिएका छन्। वीरगञ्ज क्षेत्रमा भन्सार छलीका सामानहरूका क्रियाकलापहरू रोकथाम गर्न सशस्त्र प्रहरीको भूमिका प्रभावकारी बन्दै गएको छ।
बरामद भएका सबै सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ, र यस्ता गतिविधिहरू विरुद्ध कडाइका साथ कारबाही गर्ने प्रतिबद्धता पनि सशस्त्र प्रहरीले जनाएको छ।