वीरगञ्ज । मधेस आन्दोलन र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुई भन्सार नाकाबाट हुने आयातमा २०७२/७३ मा करिब ३५ प्रतिशतले घटाएको भए पनि, पछिल्लो समय वीरगञ्ज भन्सार नाकामा आयात फेरि पुरानै अवस्थामा फर्किएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार, २०७२/७३ मा ७ खर्ब ७४ अर्ब ७१ करोड मूल्यको सामान आयात भएको थियो, जसमा वीरगञ्ज भन्सारको योगदान २३.५० प्रतिशत र सुक्खा बन्दरगाहको १२.२३ प्रतिशत रहेको थियो।
तर संविधान जारी भएको नौ वर्षपछि वीरगञ्जका दुई भन्सार नाकाबाट हुने आयातमा उल्लेखनीय वृद्धि भएको छ। हाल २०८०/८१ मा कुल १५ खर्ब ९२ अर्बको आयात भएकोमा वीरगञ्ज भन्सारको योगदान ३४.३० प्रतिशत र सुक्खा बन्दरगाहको १२.७८ प्रतिशत रहेको छ। यद्यपि, भैरहवा भन्सारको योगदान १५.२३ प्रतिशतले कायम छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमका अनुसार, आयात पुरानै लयमा फर्किए पनि उद्योग र व्यवसायहरूमा अझै सुधार देखिएको छैन। “मधेस आन्दोलनको कारणले विस्थापित भएका उद्योग र व्यवसायहरू अझै फर्किन सकेका छैनन्,” उहाँले बताउनुभयो। उद्योगहरू बारा र हेटौंडातर्फ सर्ने क्रम बढिरहेको छ भने सवारीसाधनको आयात पनि भैरहवा भन्सारतर्फ सरेको देखिन्छ।
भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार, २०७७/७८ मा कोभिड–१९ महामारीपछि आयात सुधार हुँदै १५ खर्ब ३९ अर्ब बराबरको आयात भएको थियो, जसमा वीरगञ्जको योगदान ३३.२३ प्रतिशत रहेको थियो। २०७८/७९ मा भने आयात १९ खर्ब २० अर्ब पुगेको थियो।
तर उद्योग क्षेत्रमा कोभिड–१९ महामारीपछि अझै समस्याहरू बाँकी रहेको छ। नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष कुमार टेमानीका अनुसार, राष्ट्र बैङ्कका नीतिहरूले अर्थतन्त्रमा ठुलो असर गरेको छ र उद्योगहरू अझै पुरानै अवस्थामा फर्किन सकेका छैनन्।
वरिष्ठ उपाध्यक्ष गौतमले पनि कोभिडपछि उद्योगधन्दा करिब ३०–४० प्रतिशत क्षमतामा मात्रै चलिरहेको गुनासो गर्नुभएको छ। “ठुला उद्योगहरू अहिले पनि आफ्नो पूर्ण क्षमतामा उत्पादन गर्न नसकिरहेका छन्,” उहाँले बताउनुभयो।