बारा । नेपाल ट्रेड युनियन काँग्रेस बाराको सातौँ अधिवेशनको सफलतापछि पहिलो पटक आयोजित जिल्ला परिषद् बारा जिल्लाको कलैयामा अवस्थित बिपी स्मृति भवनमा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा “श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मूल नारासँगै परिषद् सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता नेपाल ट्रेड युनियन काँग्रेस बाराका अध्यक्ष विश्वमणि शर्माले गरे। प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तथा नेपाली काँग्रेस बारा जिल्लाका सभापति राजेश राय यादवले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे।
सो अवसरमा नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य माधव उपाध्याय, नेपाल शिक्षक सङ्घ बाराका अध्यक्ष राज किशोर शहनी, बारा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति राम प्रवेश यादव, र ट्रेड युनियन बाराका उपाध्यक्ष रामाधार प्रसाद यादवले शुभकामना मन्तव्य राखेका थिए।
प्रमुख अतिथि राजेश राय यादवले श्रम र श्रमिकको सम्मानमा जोड दिँदै भने, “देशको संवृद्धिका लागि श्रमको सम्मान अत्यावश्यक छ। श्रमिकहरूको हक अधिकारको संरक्षणका लागि राज्यलाई निरन्तर दबाब दिनु आवश्यक छ।”
ट्रेड युनियन बाराका अध्यक्ष विश्वमणि शर्माले मजदुरहरूको हकहितमा सङ्गठनले प्रभावकारी रूपमा काम गर्नुपर्ने कुरा जोड दिए। उनले श्रमिकहरूको समस्यामा आफू सधैँ सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कोषाध्यक्ष चन्देश्वरप्रसाद यादवले संस्थाको आय-व्यय, आगामी वर्षका गतिविधि, भावी योजना, र रणनीतिबारे जानकारी गराए।
कार्यक्रममा मधेस प्रदेश ट्रेड युनियनका कोषाध्यक्ष राजमणि बराल, ट्रेड युनियन बाराका सह सचिव भुवनेश्वर प्रसाद यादव, नेपाल शिक्षक सङ्घ बाराका कोषाध्यक्ष ऋषिकान्त कुमार, नेपाल स्वास्थ्य सङ्घ बाराका प्रतिनिधि प्रमोद कुशवाह, नगर शिक्षक सङ्घ कलैयाका अध्यक्ष सरोज कुमार यादव लगायतका विभिन्न सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उपाध्यक्ष वैजनाथ यादवले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव ध्रुव रायले गरेका थिए।