वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बाराले स्थापना भएको ४ महिनामै दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । गएको मंसिर २५ गतेदेखि बाराको सदरमुकाम कलैयाबाट सेवा सुरु गरेको यातायात व्यवस्था कार्यालयले विभिन्न शीर्षकमा २ करोड भन्दा बढी राजश्व संकलन गरेको हो ।
कार्यालयले सबैभन्दा बढी सवारी कर तथा नविकरण शीर्षकमा राजश्व संकलन गरेको छ । जसमा १ करोड ७५ लाख ४५ हजार रुपैयाँ संकलन भएको कार्यालयका प्रमुख नवाज हुसैनले जानकारी दिए ।
यस्तै पटके दस्तुर बापत १० लाख ९५ हजार, सवारी चालक अनुमति पत्र नविकरण बापत ६ लाख ५२ हजार, नयाँ सवारी अनुमति पत्र शुल्क बापत ५ लाख ८ हजार, नयाँ सवारी अनुमति पत्र इन्ट्री शुल्क बापत १३ लाख ८१ हजार, वर्ग थप इन्ट्री शुल्क बापत २ लाख १७ हजार र सवारी अनुमति पत्र वर्ग थपको शुल्क बापत २३ हजार रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।
मधेस प्रदेश सरकारले ४ महिना अघि मात्रै संचालनमा ल्याएको यस कार्यालयले सवारी चालक अनुमति पत्र वितरण, नविकरणका साथै सवारी दर्ता, सरुवा, नामसारी, बाटो इजाजत, जाँचपास तथा प्रदुषण परीक्षण जस्ता कार्य गर्ने जिम्मेवारी समेत पाएको छ ।
कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने गरी आफूहरुले सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख हुसैनले बताए । कार्यालय प्रमुख हुसैनले जनशक्ति कम भएपनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रवाह गरिरहेको पनि उनले बताए ।
यातायात व्यवस्था कार्यालय बाराको सम्पूर्ण सेवाहरु अनलाइनमार्फत प्रदान गरिने भएकाले कुनै पनि काम बिचौलियामार्फत नगराउन पनि उनले सेवाग्राहीलाई आग्रह गरेका छन् ।
उक्त कार्यलयमा लाइसेन्सका लागि फागुन २३ गतेबाट नयाँ तथा थप वर्गका लागि आवेदन खुलेको तथा उक्त कार्यालयमा अहिलेसम्म एक हजार १९० जनाले दिएको आवेदनमा ५५८ जना मात्र पास भएर सवारी चालक अनुमातिपत्र लिने अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
अहिले धेरैजसो मोटरसाइकल र कारका लागि लाइसेन्स बनाउन आउने व्यक्तिहरु लिखितमा पास भएपनि प्रयोगात्मक परिक्षामा फेल हुने गरेको उनको अनुभव छ । सवारी चालक अनुमतिपत्र बनाउन वीरगञ्ज र हेटौँडा धाउनुपर्ने बाध्यता अहिले हटेको उनले बताए ।
यातायात कार्यालय बाराले कार, मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्याक्टर लगायतका सवारी साधनहरुको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमतिपत्र वितरण गर्ने काम गर्दै आएको छ ।