वीरगंज । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।
जिल्लाका मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् । “खेतबारीमा लगाएको बाली र तरकारी खेती बँदेल र बाँदरले नष्ट गरे । हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्,” मंगला–५ का किसान टीकानाथ कँडेलले भने ।
कँडेलका अनुसार, बँदेल, दुम्सी र बाँदर गाउँमा मात्र होइन, घरभित्र नै छिर्न थालेका छन् । मालिका–६, उपल्लो दुखु, मालिका–१, निस्कोट र वडा नम्बर–२, रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ । मालिका–६, उपल्लो दुखुकी डिलकुमारी रोका भन्छिन्, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।”
खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरा समेत खाइदिन थालेको उनले बताइन् । खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेको किसान बताउँछन् ।
दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । वन्यजन्तुले बस्तीबस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।
वनक्षेत्रनजिकका बस्तीमा निकै दुःख दिने बाँदर जंगलमा डढेलो लागेपछि बेँसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मंगला–५, छिस्वाङका निकेश पुनले बताए । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले रात परेपछि बालीनाली नोक्सान गर्ने गरेको उनको भनाइ छ ।
बँदेलले राति मात्र बाली नोक्सान गर्छ । ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उनी बताउँछन् ।
जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेल आतंक बढ्दै गएको किसान बताउँछन् । बँदेलले कैयन् बच्चा यतै हुर्काइसकेका मालिका–१ का किसान टेकबहादुर विकले बताए । दुम्सी आफ्नो बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका उनको भनाइ छ ।
बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वनक्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैनन् । डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, वासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्तीबस्ती पसेका स्थानीय किसानले बताएका छन् ।