वीरगंज | माथिबाट झरेको हिउँ पहिरोले चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ ।
बिहान पौने नौ बजे तालमा ठूलो हिउँ पहिरो झरेको वडा सदस्य धेजेन डोमाले जानकारी दिनुभयो ।
‘तालमाथिबाट ठूलो हिउँ पहिरो झयो’, उहाँले भन्नुभयो, ‘तालबाट गण्डकी जत्रै बाढी गएर बूढीगण्डकीमा मिसिएको छ । गण्डकी दोब्बर भएर बढेको छ ।’
पर्यटकीय सिजन भएकाले मनास्लु बेसक्याम्प, वीरेन्द्र ताल अवलोकन गर्न बिहान पर्यटक त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको उहाँले बताउनुभयो ।
हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ । ‘बूढीगण्डकीमा पानीको बहाब उच्च भएको छ । हामीले बूढीगण्डकी छेउ किनारका बासिन्दालाई सतर्क रहन जगत, माछाखोला लगायत विभिन्न ठाउँका चौकीहरुमा सूचना गरेका छौँ ।’
वीरेन्द्र तालमा हिउँ पहिरो त प्राय: गइरहने तर अहिले ठूलो हिमपहिरो गएको वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो ।।