रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगर क्षेत्रका नागरिकले विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बालविवाह अन्त्य गर्न पालिकाभित्रका दश वटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको बताए । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।
कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने चन्द्रपुर नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ ।