

राजपुर । दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । राजपुर गाउँपालिका–२ निवासी ४९ वर्षीय रुपलाल चौधरीको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । प्रहरीका अनुसार शनिबार दिउँसो करिब २:२० बजे राजपुर गाउँपालिका–२, खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए ।



आगोले जलेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो । घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका-५, रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।


