

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी सीमानाका हुँदै भारततर्फ जान लागेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा पर्नेमा बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलका १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनार रहेका छन्।



सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले शुक्रबार सीमा नाकामा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मानव बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई विचार गरी उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
युवतीहरू भारत जानुको वास्तविक कारण खुलेको छैन। उनीहरू मानव बेचबिखनको जोखिममा रहेको आशंकामा अनुसन्धान भइरहेको छ।


