

वीरगंज | विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने माडी जाने सडक ९० करोड रुपैयाँ लागतमा कालोपत्र गर्ने प्रक्रिया अघि बढेको छ। सडक निर्माणका लागि तयार पारिएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ। मन्त्रालयबाट प्रतिवेदन स्वीकृत भएपछि ठेक्का प्रक्रिया अघि बढ्नेछ। तर, निकुञ्ज विश्व सम्पदा सूचीमा रहेकाले सडक निर्माणका लागि युनेस्कोको सहमति लिन भने बाँकी छ।
हुलाकी सडकअन्तर्गत पर्ने यो खण्ड हुलाकी राजमार्ग निर्देशनालयले कालोपत्रे गर्न लागेको हो। निकुञ्ज क्षेत्र संवेदनशील भएकाले वन्यजन्तुलाई असर नपर्ने गरी संरचना निर्माण गरिने निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ डिभिजनल इन्जिनियर विष्णुबाबु पाण्डेले बताए। रिउ खोला, बनकट्टा, देउराली, ध्रुवघाट हुँदै जगतपुर निस्कने प्रस्तावित सडकको लम्बाइ ७.८१३ किलोमिटर हुनेछ।



सडक विभागको भू–वातावरण तथा सामाजिक शाखामार्फत निर्देशनालयले प्रस्तावित इआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पठाएको हो। मन्त्रालयले प्रस्तावित प्रतिवेदनमाथि सात दिनभित्र रायसुझाव दिन कात्तिक १३ गते सूचना जारी गरेको छ। प्रतिवेदनअनुसार हाल प्रयोगमा रहेको कसरा–ध्रुवघाट–बनकट्टा सडकभन्दा नयाँ प्रस्तावित मार्ग २.८९ किलोमिटर छोटो हुनेछ।


