

वीरगंज | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८० रन बनाएको हो ।



कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाउनुभयो । उहाँले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्नुभयो । त्यस्तै, हुसेन तलतले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोड्नुभयो ।
पवन सर्राफले २३ बलमा दुई छक्का प्रहार गर्दै अविजित ३० रन बनाउनुभयो । गुल्सन झाले १२ बलमा दुई छक्कासहित २० रनको योगदान दिनुभयो ।
अरिफुल इस्लामसँगै बंगलादेशका अर्का खेलाडी जिशान आलमले कर्णालीको इनिङ्स सुरु गर्नुभएको थियो । आइतबार मात्रै नेपाल आइपुग्नुभएका जिशानले यस खेलबाट एनपीएलमा डेब्यु गर्नुभयो । उहाँ सात रन बनाएर आउट हुनुभयो ।
दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गर्नुभयो । त्यसपछि १२ रनको अन्तरमा अरिफुल, दीपक डुम्रे र मार्क वाट आउट हुँदा कर्णाली ७८ रनमा चार विकेट गुमाएको अवस्थामा पुगेको थियो ।
त्यसपछि पवन सर्राफ र हुसेन तलतले पाँचौँ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाल्नुभयो । १७औँ ओभरको अन्तिम बलमा हिट विकेट हुनुअघि तलतले ४० रन बनाउनुभयो । त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गर्नुभयो ।
बलिङतर्फ काठमान्डु गोर्खाजका कप्तान करण केसीले दुई विकेट लिनुभयो । शाहब आलम, जहान्दाद खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिनुभयो ।


