

बारा । सिकिन्द्र साह | बारा जिल्लाको पचरौता नगरपालिका–५, इनर्वामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी गम्भीर घाइते बनाइएको घटना सार्वजनिक भएको छ।
पीडित पक्षका अनुसार गत कात्तिक ११ गते बुधबार बिहान करिब ११:४५ बजे मोबारेक मियाँकी श्रीमती सिकिन्द्र खातुनलाई ‘तिमी बोक्सी हौ’ भन्दै घेरा हालेर ज्यान जाने गरी कुटपिट गरिएको आरोप छ।
उक्त घटनामा तबारक मियाँ धुनियाका छोरा कलाम मियाँ धुनिया, सर्फुन खातुन, अपसाना खातुन, रोकसाना खातुनलगायत व्यक्तिहरू संलग्न रहेको पीडित पक्षले आरोप लगाएको छ।



कुटपिटबाट घाइते भएकी सिकिन्द्र खातुनलाई स्थानीयवासीको सहयोगमा बेलदारीस्थित नगर अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, पर्सा रेफर गरिएको पीडितका छोरा समिरुल मन्सुरीले बताएका छन्।
घटनामा संलग्न आरोपितहरूलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा उजुरी दिएको जनाएको छ।
देशमा सुशासन र कानुनी राज्यको कुरा भइरहेका बेला महिलामाथि बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार गरिनु दुःखद विषय हो। पीडित पक्षले दोषीलाई जोगाउने चलखेल हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ।
बोक्सीको आरोप लगाउनु आफैँमा सामाजिक कुरीति र कानुनी रूपमा दण्डनीय कार्य हो। यस्ता घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय र सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो।


