

वीरगंज | भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट फर्किँदै गरेको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। चमोली हुँदै देहरादुनतर्फ आउँदै गरेको हेलिकप्टरका पाइलटसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन।
प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर बदरीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडेको थियो। हेलिकप्टरमा चालक दलका सदस्यबाहेक ६ जना यात्रु सवार रहेको बताइएको छ।



घटनालगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएको छ। उद्धार टोलीले रेडियो तथा अन्य माध्यमबाट पाइलटसँग सम्पर्क गर्ने प्रयास गरिरहेको भए पनि सफलता मिलेको छैन।
उक्त क्षेत्रमा प्रतिकूल मौसमका कारण खोजी कार्य प्रभावित भएको छ। खराब मौसमका बाबजुद ड्रोनको सहायताले हेलिकप्टरको अवस्थिति पत्ता लगाउने प्रयास तीव्र पारिएको प्रशासनले जनाएको छ।
हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।


