

रौतहट। रौतहटमा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार साँझ फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा रहेको दुधिअवा–बालचनपुर सडकखण्डमा भएको दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको हो।



बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी दुधिअवाबाट प्रहरी सहायक निरीक्षक नरेश यादवको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा मोटरसाइकल चालक रौतहटको गुजरा नगरपालिका–४ पोखरभिण्डा निवासी ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी रहेको खुलेको थियो।
उनी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए। मोटरसाइकलको पछाडि उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का सवार थिइन्।
दुर्घटनामा दुवै जना गम्भीर घाइते भएपछि उपचारका लागि एम्बुलेन्समार्फत वीरगञ्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा राति ८ः१० बजे प्रहरी जवान चौधरीलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी उनकी श्रीमती निशा खड्काको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार चालकको खोजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।


