

वीरगञ्ज । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन बेटिङविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। यसैक्रममा २ अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टो कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाको सबैला नगरपालिका–१२ निवासी २८ वर्षीय सुनील कुमार यादवलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी अवैध डिजिटल मुद्रा कारोबारमा संलग्न रहेको गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यकाबाट पक्राउ परेका हुन्।



प्रारम्भिक अनुसन्धानका क्रममा यादवले विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन प्रयोग गरी क्रिप्टोकरेन्सी, विशेषगरी क्रिप्टो तथा यूएसडीटी (USDT) को अवैध कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान कार्यालयले यादवको बाइनान्स (Binance) खातामाथि अनुसन्धान गर्दा ठूलो परिमाणमा कारोबार भएको तथ्य फेला पारेको हो। प्रहरीका अनुसार उनको उक्त खातामार्फत कुल २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।
क्रिप्टोकरेन्सी तथा अनलाइन बेटिङसँग जोडिएको यति ठूलो परिमाणको कारोबार सार्वजनिक भएपछि प्रहरीले यसमा संलग्न अन्य व्यक्ति तथा समूहको खोजीसमेत अघि बढाएको छ। कारोबारमा प्रयोग भएको रकमको स्रोत, त्यसको प्रयोजन र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
पक्राउ परेका यादवलाई प्रहरीले काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराएको थियो। अदालतले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई म्याद थपको अनुमति दिएको छ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग, माइनिङ तथा यससँग सम्बन्धित गतिविधिलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी घोषणा गरेको छ। राष्ट्र बैंकले पटक–पटक सार्वजनिक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराउँदै आएको छ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने व्यवस्था छ। विशेषगरी विदेशी विनिमयसम्बन्धी कानुन तथा अन्य प्रचलित कानुनी व्यवस्थाअनुसार अनुसन्धान र कारबाही गरिने प्रहरीको भनाइ छ।
पछिल्लो समय नेपाल प्रहरीले डिजिटल वित्तीय अपराध, अवैध क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन सट्टेबाजी एप्लिकेसनविरुद्ध निगरानी र अनुसन्धानलाई तीव्र बनाएको छ। यादवको पक्राउलाई पनि अवैध डिजिटल कारोबार नियन्त्रण गर्ने प्रहरी अभियानको महत्वपूर्ण कारबाहीका रूपमा हेरिएको छ।


