

वीरगंज | अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रवृत्ति प्रहरीमा सामान्य बन्दै गएको छ । यसले अनुसन्धानका क्रममा प्रहरीले मोबाइलभित्रका सामग्री कस्तो अवस्थामा हेर्न पाउँछ र त्यसमा रहेका निजी सूचनामा कति हदसम्म पहुँच राख्न सक्छ भन्ने प्रश्न उठाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार राति महाराजगञ्जस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु ल्याउँदा प्रहरीले उनको मोबाइलसमेत नियन्त्रणमा लियो ।
जबरालाई कुनै कसुरमा पक्राउ गरिएको थिएन । पक्राउ पुर्जी पनि दिइएको थिएन । प्रहरीले उनलाई सुरक्षा चुनौती रहेको भन्दै घरबाट टेकु ल्याएको थियो । तर, कार्यालय पुगेपछि उनको मोबाइल मागियो र उनलाई एक्लै राखेर सोधपुछ गरियो ।


