

वीरगन्ज । वीरगन्ज–रक्सौल नाकाको मितेरी पुल पार गरेर भारततर्फ लैजाँदै गरिएको ११ किलोभन्दा बढी चरेस भारतीय सुरक्षाकर्मीले बरामद गरेपछि नेपालतर्फको सीमा सुरक्षा र जाँच प्रणालीमाथि प्रश्न उठेको छ।
भारतीय सुरक्षाकर्मीका अनुसार वीरगन्ज नाका हुँदै भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार हुन लागेको विशेष सूचना प्राप्त भएपछि भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले शनिबार साँझ सीमावर्ती क्षेत्रमा विशेष निगरानी तथा चेकजाँच बढाएका थिए।
सोही क्रममा वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको एउटा शंकास्पद ई–रिक्सा रोकेर खानतलासी गर्दा त्यसमा लुकाएर राखिएको बोराबाट २२ वटा कालो प्लास्टिकका प्याकेटमा प्याक गरिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको भारतीय सुरक्षा निकायले जनाएको छ।
चरेससहित वीरगन्ज महानगरपालिका–छपकैयाका ३९ वर्षीय अमर चौधरी पक्राउ परेका छन्। भारतीय सुरक्षाकर्मीले उनलाई ई–रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाएका छन्।
घटनाले भने वीरगन्जतर्फको सीमा सुरक्षा जाँचमाथि गम्भीर प्रश्न खडा गरेको छ। ठूलो परिमाणमा लागूऔषध बोकेको ई–रिक्सा मितेरी पुल हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेपछि मात्रै भारतीय सुरक्षाकर्मीको जाँचमा पक्राउ पर्नुले नेपालतर्फ सीमा नाकामा हुने सुरक्षा जाँच कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठेको हो।
विशेषगरी, भारतीय पक्षले लागूऔषध ओसारपसारको पूर्वसूचना पाएर सीमामा कडाइ गरेको अवस्थामा उक्त ई–रिक्सा नेपालतर्फको सुरक्षा जाँच पार गरेर कसरी मितेरी पुलसम्म पुग्यो भन्ने विषयमा प्रश्न उठेको छ।
यसबारे नेपाली सुरक्षाकर्मीको जाँच प्रणालीमा कमजोरी भएको हो वा अन्य कुनै कारणले ठूलो परिमाणको लागूऔषध बोकेको सवारी साधन नेपालतर्फको सुरक्षा घेरा पार गर्न सफल भएको हो भन्ने विषयमा छानबिन आवश्यक देखिएको छ।
यद्यपि, घटनामा नेपाली सुरक्षा निकायको कुनै संलग्नता वा मिलेमतो रहेको भन्ने कुरा हालसम्म पुष्टि भएको छैन। त्यसैले यस विषयमा तथ्यगत अनुसन्धान र सम्बन्धित सुरक्षा निकायको आधिकारिक धारणा आवश्यक देखिन्छ।
भारतीय सुरक्षाकर्मीले बरामद गरेको चरेस र पक्राउ परेका नेपाली नागरिकमाथि भारतीय कानुनअनुसार थप अनुसन्धान भइरहेको जनाइएको छ।


