
वीरगंज \ पश्चिम एसियामा विकसित नयाँ कूटनीतिक घटनाक्रमबीच इरानलाई साउदी अरब, पाकिस्तान र टर्की सम्मिलित रक्षा गठबन्धन ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा दिइएको द जेरुसेलम पोस्टले जनाएको छ । इरानी संसद्को खानेह मेल्लत समाचार एजेन्सीका प्रमुख मेहदी रहीमीलाई उद्धृत गर्दै अल मयादीनले यस्तो दाबी गरेको हो ।
इरानले उक्त प्रस्तावमाथि विचार गरिरहेको र यो क्षेत्रका देशहरू साझा सुरक्षा व्यवस्थातर्फ अघि बढिरहेको रहीमीले बताएका छन् । साउदी, पाकिस्तान वा टर्कीका तर्फबाट भने यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
के हो ‘मक्का प्याक्ट’ ?
यही अगस्ट ७ मा साउदी अरब, पाकिस्तान र टर्कीले मक्कामा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । यीमध्ये कुनै एक मुलुकमाथि सशस्त्र आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको हमलका रूपमा लिइने सम्झौता छ ।
टर्कीका परराष्ट्रमन्त्री हाकान फिदानले यो व्यवस्थालाई नेटोको अनुच्छेद ५ सँग तुलना गरेका छन् । सम्झौताको मुख्य उद्देश्य संयुक्त सैन्य अभ्यास, रक्षा उद्योगमा सहकार्य तथा आपसी सुरक्षा समन्वय बढाउनु हो ।
साउदी–इरान सम्बन्ध र भू–राजनीतिक महत्त्व
लामो समयदेखि क्षेत्रीय प्रतिद्वन्द्वी मानिँदै आएका साउदी अरब र इरानले सन् २०२३ मा चीनको मध्यस्थतामा कूटनीतिक सम्बन्ध पुनर्स्थापना गरेका थिए । यमन युद्धमा साउदीले त्यहाँको सरकारलाई र इरानले हुथी विद्रोहीलाई समर्थन गर्दै आएका कारण दुई देशबीच लामो समयदेखि तनाव छ ।
अगस्ट १० मा इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले ‘मक्का प्याक्ट’प्रति इरानको कुनै आपत्ति नरहेको बताएका थिए ।
इरान उक्त रक्षा गठबन्धनमा सामेल भएमा यसले मध्यपूर्वको सुरक्षा संरचना र क्षेत्रीय शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने जनाइएको छ ।
