
वीरगंज | जय नेपाल पार्टी खोलेर पहिलो केन्द्रीय कार्यसमिति बैठकसमेत गरिसकेका पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरी करिब दुई घन्टा कुराकानी गरेका छन्।
जय नेपाल पार्टीका सभापति राणा र पूर्वराजा शाहबीच काठमाडौंस्थित सोल्टी होटलमा शनिबार भेटवार्ता भएको हो।
हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रमका निम्ति उनीहरू सहभागी थिए। सोही क्रममा समय निकालेर सभापति राणा र पूर्वराजा शाहबीच ‘वान टू वान’ दुई घन्टा कुराकानी भएको जय नेपाल पार्टीका नेताहरूको भनाइ छ।
जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीले पूर्वराजा शाह र सभापति राणाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको सेतोपाटीलाई जानकारी दिए। उनकाअनुसार भेटवार्ता ‘फलदायी’ रह्यो।
पूर्वराजा शाहलाई भेटेर कुराकानी गरेका सभापति धवल शम्शेर राणासँग पनि हामीले कुराकानी गरेका छौं।
सभापति राणाका अनुसार करिब दुई घन्टा चलेको छलफलमा जय नेपाल पार्टी गठन, यसका उद्देश्य र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।
‘हामीले जय नेपाल पार्टी गठन गरेका छौं त्यसबारे पनि उहाँलाई जानकारी गराएँ, शुभकामना आदानप्रदानका कुरा भए, समसामयिक राजनीतिक र सामाजिक अवस्थाका बारेमा लामो कुराकानी भयो,’ सभापति राणाले भने, ‘नयाँ पार्टी गठन भएको विषयमा उहाँको शुभकामना छ। राय सल्लाह पनि दिनुभयो। राजाले कहिल्यै पनि नकारात्मक हुरा गर्नुहुन्न, सबैप्रति सकारात्मक रहेको पाएँ।’
पूर्वराजा शाहले सभापति राणालाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए।
सभापति राणाले पार्टीको पहिलो केन्द्रीय समिति बैठक पनि सम्पन्न भइसकेको र पार्टीले राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा जनमत बनाउँदै अघि बढ्ने कार्यदिशा लिएकोबारे पनि पूर्वराजा शाहलाई जानकारी गराएका थिए।
साथै अब हुने स्थानीय र प्रदेश चुनावमा भाग लिने उनले बताए।
‘हामी प्रदेश र स्थानीय चुनावमा भाग लिन्छौं, यो कुरा पनि मैले जानकारी गराएँ, हामीले मुलुकभर राम्रा मानिसहरू उम्मेदवारका लागि खोजिरहेका छौं, उम्मेदवारको आह्वान भइसकेको छ,’ सभापति राणाले भने, ‘स्थानीय तहलाई राम्रो बनाउँछु भन्ने पढेलेखेका, हुटहुटी भएका साथीहरूलाई उम्मेदवार हुन आह्वान छ।’
राप्रपा महामन्त्री छाडेर राणाले नयाँ पार्टी गठन गरेका थिए। आफूले लामो समयपछि पूर्वराजालाई भेटे पनि राप्रपा परित्याग गरी नयाँ पार्टी खोलेकोबारे पूर्वराजा जानकार रहेको उनले बताए।
