
वीरगंज | मानिसलाई वर्षौंदेखि निद्रा नआउने समस्या हुन सक्छ । कहिलेकाहीँ यो केवल अनुभूति मात्र हुन्छ भने कहिले वास्तवमै समस्या हुन्छ ।
यो कुरा थाहा पाउन हाम्रो घडीले पनि भूमिका खेल्न सक्छ । यही घडी नै निद्रासम्बन्धी चिन्ताको एउटा ठूलो कारण बन्न सक्छ । यसले लगातार समयमै सुत्न सम्झाइरहन्छ र हरेक बिहान खराब ‘स्लिप स्कोर’ देखाएर चिन्ता बढाउन सक्छ ।
यसले गर्दा डर बढ्ने, मुटुको धड्कन तीव्र हुने र अब निद्रा आउँदैन कि जस्तो लाग्ने हुन सक्छ । अचम्मको कुरा के छ भने, भोलिपल्ट भने हामी एकदमै ठिक र ताजा महसुस गर्न सक्छौँ ।
लिस्बन विश्वविद्यालयकी निद्रा अनुसन्धानकर्ता काचा हेइसले कुराकानीका क्रममा निद्रा पूरा नहुँदा मानिसको सोच्ने र बुझ्ने क्षमतामा नकारात्मक असर पर्ने बताइन् । उनका अनुसार, निद्राको कमीलाई मानिसले सधैँ सही ढंगले मूल्यांकन गर्न नसक्ने भएकाले यस्तो अवस्था उत्पन्न हुन सक्छ ।
उनी हप्ताका केही दिनमा ठिक महसुस गरे पनि सप्ताहान्तमा आवश्यकताभन्दा बढी सुत्छिन्, जुन ‘स्लिप डेट’ अर्थात् निद्राको कमीको संकेत हुन सक्छ ।
निद्रामा हाम्रो दिमागले खेल्छ महत्त्वपूर्ण भूमिका
हेइसले निद्रासँग जोडिएका विभिन्न अवस्थाबारे अनुसन्धान गरेकी छन्, जसमा एथलिटहरूमा जेट ल्याग र निद्राको कमीको असर पनि समावेश छ ।
एउटा अनुसन्धानमा ‘स्लिप एप्निया’ (राति सुत्दा बारम्बार सास रोकिने अवस्था) भएका बिरामी र सिफ्टमा काम गर्ने मानिसहरूको निद्रा तथा सुस्तीको स्तर तुलना गरिएको थियो । सिफ्टमा काम गर्ने मानिसहरू प्रायः आफ्नो ‘सर्केडियन रिदम’ (जैविक घडी) को विपरीत समयमा काम गर्छन् । यो हाम्रो शरीरभित्रको आन्तरिक घडी हो, जसले हामीलाई कहिले ब्युँझिने र कहिले सुत्ने भन्ने संकेत दिन्छ ।
उनले सहभागीहरूले आफैँ महसुस गरेको सुस्ती अर्थात् आत्म–मूल्यांकन र क्लिनिकल परीक्षणका नतिजा तुलना गरिन् । यस क्रममा उनले मानिसहरू जति बढी सुस्ती वा निद्रा लाग्ने अवस्थाको सम्पर्कमा आउँछन्, आफ्नो सुस्तीको सही अनुमान लगाउने उनीहरूको क्षमतामा त्यति नै कमी आउँदै जाने पत्ता लगाइन् ।
दिमागले आफ्नो अवस्थालाई सही ढंगले मूल्यांकन गर्न छाड्न सक्छ । यो चिन्ताको विषय हो, किनभने निद्रामा दिमागको महत्त्वपूर्ण भूमिका हुन्छ ।
हरेक राति करिब ७.५ देखि ८.५ घण्टाको निद्रा आवश्यक
जब हामी सुत्छौँ, हाम्रो शरीरले मर्मत र पुनर्स्थापनाका धेरै काम गर्छ । यसले भोजन वा वातावरणका माध्यमबाट शरीरमा पुगेका केही विषाक्त तत्वलाई बाहिर निकाल्न, नयाँ ऊर्जा निर्माण गर्न तथा पढाइ, सिकाइ र स्मरणशक्तिलाई सहयोग गर्न भूमिका खेल्छ ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोमा निद्रामाथि अनुसन्धान गरिरहेकी यिङ–हुई फूका अनुसार, निद्रामा दिमागका धेरै भाग संलग्न हुन्छन् । उनका भनाइमा न्युरोलोजिकल र साइकियाट्रिक रोगलगायत दिमागसँग सम्बन्धित लगभग हरेक रोगको प्रत्यक्ष सम्बन्ध निद्रासम्बन्धी समस्यासँग हुन सक्छ ।
औसतमा मानिसलाई हरेक राति करिब ७.५ देखि ८.५ घण्टाको निद्रा आवश्यक पर्ने बताइन्छ । तर, प्रायः हामी चुनौतीपूर्ण काममा खटिएका मानिसहरू, खासगरी नेताहरूले आफू धेरै कम घण्टा मात्र सुत्ने गरेको बताएको सुन्छौँ, मानौँ उनीहरू सधैँ मानिसकै सेवामा व्यस्त छन् ।
हालै जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले पनि पद सम्हालेपछि आफू हरेक राति केवल शून्यदेखि तीन घण्टासम्म मात्र सुत्न पाउने गरेको बताएकी थिइन् । पूर्वहेभी मेटल ड्रमर भएका कारण जापानी प्रधानमन्त्रीबाट एक किसिमको सहनशीलताको अपेक्षा गर्न सकिएला ।
यद्यपि, उनी जानीजानी वा बानी परेर लगातार कम सुत्छिन् भने यसले उनको मिहिनेत र कामप्रतिको समर्पण देखाए पनि दीर्घकालमा स्वास्थ्यका लागि राम्रो नहुन सक्छ ।
सबैभन्दा खराब अवस्थामा लामो समयसम्म निद्राको कमी हुँदा शरीरमा विषाक्त तत्त्व जम्मा हुन सक्छन्, जसले मुटु वा दिमागसम्बन्धी रोगको जोखिम बढाउन सक्छ । अझ गम्भीर अवस्थामा यसले ज्यानसमेत लिन सक्छ ।
फूले स्वास्थ्यका लागि निद्राभन्दा पनि बढी आवश्यक दुईवटा कुरा मात्र रहेको बताइन् । उनका अनुसार, पहिलो हावा हो । हावा नपाए मानिस केही मिनेटमै मर्न सक्छ ।
दोस्रो पानी हो । पानी नपाए केही दिनमै ज्यान जान सक्छ । खाना नखाई मानिस केही महिना बाँच्न सक्छ, तर निद्रा नलिई सम्भवतः केही सातामात्र बाँच्न सक्ने उनले बताइन् । उनका अनुसार, यो कुरा सबै जनावरमा लागु हुन्छ । उनले निद्रा नलिए अन्ततः मानिसको मृत्यु हुने बताइन् ।
अपवाद : न्याचुरल सर्ट स्लिपर्स
‘न्याचुरल सर्ट स्लिपर्स’ अर्थात् स्वाभाविक रूपमा कम सुत्ने मानिसहरू यस नियमका अपवाद हुन् । उनीहरू राति ६ घण्टाभन्दा कम सुत्न सक्छन् र राम्रो महसुस मात्र गर्दैनन्, वास्तवमै स्वस्थ, खुसी र ऊर्जावान् पनि रहन्छन् ।
उनीहरूमा केही आनुवंशिक भिन्नता हुने देखिएको छ, जसले उनीहरूलाई कम निद्रामै पनि सामान्य रूपमा काम गर्न मद्दत गर्छ । फूले एक ८० वर्षीय ‘न्याचुरल सर्ट स्लीपर’को उदाहरण दिइन्, जसले ट्रायथलनमा समेत भाग लिएका थिए ।
फू र उनको प्रयोगशालाले सन् २००९ मा डीईसी२ जीनमा यस्तो पहिलो भेरियसन पत्ता लगाएर अनुसन्धानको नतिजा प्रकाशित गरेका थिए । त्यसको १० वर्षपछि उनीहरूले अर्को अनुसन्धानपत्र प्रकाशित गरे, जसमा एडीआरबी१जीन पनि ‘न्याचुरल सर्ट स्लीपर सिन्ड्रोम’सँग सम्बन्धित रहेको देखाइएको थियो । त्यसपछि एनपीएसआर१, जआिरएम१ र एसआइके३ जीनबारे पनि नयाँ जानकारी बाहिर आएका छन् र अन्य धेरै जीनमाथि अनुसन्धान जारी छ ।
यसलाई ‘म्युटेसन’ अर्थात् परिवर्तनको सट्टा जीन ‘भेरियसन’ अर्थात् विभिन्न रूप भनिएको छ, किनभने ‘म्युटेसन’ शब्दको सम्बन्ध प्रायः स्वास्थ्यमा नकारात्मक असर पार्ने परिवर्तनसँग जोडिन्छ । तर, ‘न्याचुरल सर्ट स्लिप’ अर्थात् स्वाभाविक रूपमा कम सुत्ने मानिसमा त्यस्ता स्वास्थ्य समस्या नदेखिने बताइएको छ, जुन बानी परेर कम सुत्ने वा पर्याप्त निद्रा नलिने मानिसले सामना गर्नुपर्ने हुन सक्छ ।
यी जीनहरूले निद्राले शरीरका विभिन्न प्रक्रियालाई कसरी प्रभाव पार्छ भन्ने देखाउँछन् । डीईसी२ ले सुत्ने र ब्युँझिने समय नियन्त्रण गर्न मद्दत गर्छ । एडीआरबी१ ले मुटु र नसासम्बन्धी संकेत पठाउन मद्दत गर्छ ।
एनपीएसआर१ ले उत्तेजना र छटपटी नियन्त्रण गर्न मद्दत गर्छ । जीआरएम१ दिमागको कार्यमा संलग्न हुन्छ र डिप्रेसनसँग सम्बन्धित हुन सक्छ । एसआइके३ ले कोषचक्र, मेटाबोलिजम र सुन्निने अर्थात् इन्फ्लेमेसन प्रक्रियामा भूमिका खेल्छ ।
यीमध्ये प्रत्येक जीनको भूमिका पहिचान गर्न र परीक्षण गर्न वर्षौंको मिहिनेत तथा आधारभूत अनुसन्धान लागेको छ । फूका अनुसार, प्रत्येक मानिसको जिनोममा सयौँदेखि हजारौँ विशेष किसिमका आनुवंशिक भिन्नता हुने भएकाले वास्तवमा कुन भिन्नताका कारण यस्तो विशेषता आएको हो भन्ने पत्ता लगाउनु निकै कठिन काम हो ।
राम्रो निद्राको फाइदा
अहिलेसम्म पहिचान भएका स्वाभाविक रूपमा कम सुत्ने मानिसको संख्या निकै कम छ । तर, फूका अनुसार, अनुसन्धानमार्फत यस्तो क्षमता भएका मानिसको संख्या अहिले देखिएभन्दा धेरै हुन सक्छ । फूका अधिकांश खोज त्यस्ता परिवारमा सीमित छन्, जहाँ एकै प्रकारको जीन भेरियसन पाइएको छ । यसको व्यावहारिक र वैज्ञानिक कारण पनि छ ।
यदि कुनै परिवारका तीन सदस्यमा एउटै प्रकारको भेरियसन छ र उनीहरू सबै चारदेखि ६ घण्टा मात्र सुतेर पनि पूर्ण रूपमा स्वस्थ देखिन्छन् भने त्यही आनुवंशिक भिन्नता यसका लागि जिम्मेवार हुने सम्भावना बलियो हुन्छ । विशेषगरी त्यो जीन राम्रो निद्राका लागि आवश्यक मानिँदै आएको अवस्थामा यस्तो निष्कर्ष अझ बलियो हुन सक्छ ।
तर, यो अनुसन्धान अहिले पनि प्रारम्भिक चरणमै रहेको छ । फूले स्वाभाविक रूपमा कम सुत्ने मानिसहरू सामान्य मानिसभन्दा अझ राम्रोसँग काम गर्न सक्ने र स्वस्थ रहन सक्ने बताइन् । उनका अनुसार, यसको सबैभन्दा तार्किक कारण उनीहरूको निद्राको प्रणाली नै अझ प्रभावकारी हुनु हुनसक्छ, अर्थात् उनीहरूले कम समयमै गुणस्तरीय निद्रा लिन सक्छन् ।
हेइस पनि यस क्षेत्रमा भइरहेको अनुसन्धानका विषयमा सावधानीपूर्वक धारणा राख्छिन् । उनका अनुसार, स्वाभाविक रूपमा कम सुत्ने मानिसमाथि अहिलेसम्म धेरै कम अध्ययन भएका छन् ।
उनले बानी परेर कम सुत्ने मानिसहरूको क्लिनिकल परीक्षण गर्दा उनीहरूको निद्राको अवधि बढाएपछि स्वास्थ्य र कार्यक्षमतामा सुधार देखिने बताइन् । तर, स्वाभाविक रूपमा कम सुत्ने मानिसमाथि लामो समयसम्म गरिएका अध्ययनको भने अभाव रहेको उनको भनाइ छ ।
फू पनि यसमा सहमत छिन् । यद्यपि, उनले यस्तो अनुसन्धानका लागि बजेट तथा आर्थिक स्रोत जुटाउनु चुनौतीपूर्ण रहेको बताइन् । उनका अनुसार, हरेक व्यक्तिलाई राम्रो निद्रा लिन सहयोग गर्नु नै आफ्नो अनुसन्धानको प्रमुख उद्देश्य हो । यदि सबैलाई राम्रो निद्रा लिन सहयोग गर्न सकिएमा विभिन्न रोगको दरमा उल्लेखनीय कमी आउन सक्छ ।
