
वीरगंज | अभिलाष गुप्ता
वीरगञ्ज, साउन २०
नेपाल अडिटर्स एसोसिएसन (अडान) को २१औँ स्थापना दिवसको अवसरमा देशभर केन्द्र, प्रदेश तथा जिल्ला तहमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। सोही क्रममा नेपाल अडिटर्स एसोसिएसन पर्साले बुधबार वीरगञ्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।
कार्यक्रमअन्तर्गत पर्सा जिल्लाका लेखापरीक्षक तथा लेखा व्यवसायीहरू वीरगञ्जको घण्टाघरमा भेला भएका थिए। त्यहाँबाट सहभागीहरूले भानुचोकको परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर कार्यक्रम सम्पन्न गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सदस्य दिनानाथ रौनियार ले लेखापरीक्षकहरूको संख्या घट्दै गएको तथा पेशालाई कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको उल्लेख गर्दै पेशागत हकहित, सुरक्षा र सम्मानका लागि सबै लेखापरीक्षक अझ सशक्त र एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
त्यसैगरी, अर्का केन्द्रीय सदस्य डा. सन्तोष कुमार साह ले लेखापरीक्षकहरूलाई बिचौलिया तथा झोले प्रवृत्तिबाट सचेत रहँदै इमान्दार र मर्यादित ढंगले पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा केन्द्रीय अनुशासन समितिका सदस्य प्रदुम्न प्रसाद सेढाई, वरिष्ठ लेखापरीक्षक श्यामनारायण श्रेष्ठ, रोशन श्रेष्ठ, दिपक ध्वज जोशी, श्याम ठाकुर, विजयराज शर्मा, जयन्त चौरसिया, रामसदाय सिंह, प्रेम उपाध्याय, किशोर गुप्ता, उमेशचन्द्र यादव लगायतका लेखापरीक्षक तथा भिजन टिम को विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण लेखापरीक्षक तथा अतिथिहरूलाई अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसिया ले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन अडान पर्साका सचिव कुलोत्तम पोखरेल ले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष रामबाबु साह ले सम्हालेका थिए।
अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले लेखापरीक्षकहरूलाई नियामक निकायले लागू गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा आफ्नो हस्ताक्षरको कुनै पनि प्रकारको दुरुपयोग हुन नदिन विशेष सतर्क रहन आग्रह गरे।
अध्यक्ष सिंहले कार्यक्रममा सहभागी भिजन टिम ले लेखापरीक्षकहरूका लागि भेष्ट उपलब्ध गराएको तथा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।
स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले लेखापरीक्षकहरूबीच पेशागत एकता, अनुशासन, आचारसंहिताको पालना तथा पेशाको गरिमा संरक्षण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
