कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल
वीरगंज संजाल
Aug 1, 2026, 11:06 am
०
वीरगञ्ज ।
वीरगञ्जमा पुरानो व्यक्तिगत विवादका कारण भएको कुटपिटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। साउन १५ गते साँझ वीरगञ्ज महानगरपालिका-२ स्थित इदगाह चोकमा स्थानीय १८ वर्षीय समिर अन्सारीले वीरगञ्ज-१६ का १८ वर्षीय रञ्जित यादवमाथि पुरानो रिसइबी साँधेर हातपात गरेका थिए। कुटपिटबाट घाइते भएका यादवलाई प्रहरीले तत्काल उद्धार गरी वीरगञ्जकै प्रभु अस्पतालमा भर्ना गरेको छ भने घटनामा संलग्न अन्सारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
यसैबीच, यसै घटनालाई जोडेर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सामाजिक तथा धार्मिक सद्भाव खलबलाउने किसिमका भ्रामक सामग्री फैलिएकोप्रति जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उक्त विज्ञप्तिमार्फत प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही सुरु भइसकेको स्पष्ट पार्दै कुनै पनि अफवाहको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न सत्यतथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारकर्मी र आम नागरिकमा अपिल समेत गरिएको छ।