
वीरगंज | गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहा पुगेर उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम तय भएको छ। यो जानकारी उनले आफैं सुनसरीको देवानगञ्जमा दिएका हुन्।
यसअघि बिहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज पुगी मृतकका आफन्तसँग भेटघाट गरेका थिए। उनको उपस्थितिमा मृतकका परिवार र प्रशासनबीच सात बुँदे सहमतिमा हस्ताक्षरसमेत भएको छ। उक्त सहमतिपछि उनी मोरङको विराटनगर आइपुगेका हुन्। केही समय विराटनगरमा बिताएपछि उनी सिरहातर्फ लाग्नेछन्।
सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध चर्किँदा बिहीबार मधेश प्रदेशका विभिन्न जिल्ला अशान्त बनेका थिए। त्यसक्रममा सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाहीका रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो।
गृहमन्त्री गुरुङले आज सिरहामा मृतक यादवको परिवारलाई भेटेर सान्त्वना दिनेछन्। साथै, उनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी र स्थानीय प्रशासनका अधिकारीहरूबाट जानकारी लिने कार्यक्रम छ।
