
पर्सा | लक्ष्मी खड्काको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै पर्साको ठोरी गाउँपालिकाका स्थानीय तथा नागरिक समाज विरोध कार्यक्रममा उत्रिएका छन्। “ठोरी गा.पा. नागरिक समाज” को ब्यानरमा आयोजित विरोध तथा ऐक्यबद्धता र्यालीमा सहभागीहरूले घटनाको सूक्ष्म अनुसन्धान गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका हुन्।
प्रदर्शनकारीहरूले ओछ्यान, रगत र चुराका टुक्रा, भान्साको अवस्था, डोरी तथा शवको तस्बिरसहितको ब्यानर प्रदर्शन गर्दै ११ बुँदे माग अघि सारेका छन्। उनीहरूले लक्ष्मी खड्कालाई न्याय दिनु पर्ने, घटना स्थलका तस्बिर र दृश्यहरूको गम्भीर छानबिन हुनु पर्ने, घटनाको विवरण तुरुन्त सार्वजनिक गरिनु पर्ने र निष्पक्ष जाँचबुझ समिति गठन हुनु पर्ने माग राखेका छन्।
यसै गरी मृतकका दिदी-भिनाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नुपर्ने, घरको अवस्था तथा घटनास्थलको पुनः जाँच हुनु पर्ने, मृतकको ब्याग र मोबाइल फोन सार्वजनिक गरिनु पर्ने, नारायणी अस्पतालको शवगृहमा छानबिन हुनु पर्ने र अस्पताल प्रशासनमाथि कारबाही हुनु पर्ने माग समेत गरिएको छ।
प्रदर्शनका क्रममा नागरिक समाजले हरेक छोरी-बुहारीलाई आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न र पक्राउ परेका वा आशङ्कित अपराधीको बयान सार्वजनिक गर्न जोडदार माग गरेको छ। मागहरू पूरा नभएसम्म आन्दोलन र खबरदारी जारी राख्ने स्थानीय नागरिक समाजले चेतावनी दिएको छ।
