
वीरगंज | रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोलमा शुक्रबार बिहान धारिलो हतियार खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
प्रहरीका अनुसार स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०-४५ वर्षीया रेनु देवी जयसवालमाथि शुक्रबार बिहान करिब १०ः३० बजे खुकुरी प्रहार भएको थियो। घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्यामा बाराको करैयामाई गाउँपालिका-८ ईटहर बेलाही टोल घर भई हाल गुजरा-५ हरिहरपुर टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि आक्रोशित स्थानीयवासीले आरोपित उपेन्द्रमाथि कुटपिट गरेका थिए। स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा प्रहरी निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
